शुक्रबार
२० मङ्सिर
२०७६

सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेका छन् : दाहाल

शुक्रबार मङ्सिर ६, २०७६/ Friday 11-22-19

भक्तपुर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता नबुझेकाले सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले सङ्घीयता अझै पूर्ण भइनसकेको र प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला सङ्घीयता विरोधी सक्रिय बनेको बताएका छन् । 

अध्यक्ष दाहालले सङ्घीयतालाई पूर्णता दिँदै जातीय, वर्गीय र लैङ्गिक उत्पीडन अन्त्य गर्न बाँकी रहेको बताउँदै कुनै समय आफ्नो टाउकाको मूल्य तोकेको दलसँग अहिले सहकार्य गर्नुपरेको समेत चर्चा समेत गरेका छन् ।

कार्यक्रममा गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले एकीकृत दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई मूर्तरूप दिन नयाँ सङ्गठनात्मक संरचना गठन गरी नयाँ शक्ति निर्माण गर्न बाँकी रहेको बताए । मन्त्रि थापाले मुलुकको समृद्धिका लागि माक्र्सवाद, लेनिनवाद र समाजवादलाई पनि समृद्ध बनाउँदै लानुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । गृहमन्त्री थापाले एकीकृत पार्टीले तय गरेका सिद्धान्त, नीति, कार्यदिशा र रणनीतिलाई सशक्त ढङ्गबाट अगाडि बढाइने बताए ।

देशभरबाट २५१ जना सहभागी भएको दुई दिनसम्म चल्ने प्रशिक्षणले मोर्चाको राजनीतिक प्रतिवेदन तथा अन्तरिम विधानमाथि छलफल गर्ने लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाका केन्द्रीय संयोजक भोजविक्रम बुढामगरले जानकारी दिए ।