• Sep 21 2020 | २०७७, आश्विन ५गते

२०७७, आश्विन ५गते

यो साता चर्चामा:

महिलाको इज्जत ‘दुई तिघ्रा’को बीचमा लुकेको हुन्छ : डा अरुण उप्रेती

मंसिर ८ २०७६
  • 15.0K
    SHARES
  • महिलाको इज्जत ‘दुई तिघ्रा’को बीचमा लुकेको हुन्छ : डा अरुण उप्रेती

    महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बलात्कार गर्छ, महिलाको ‘इज्जत’ लुटिएको ठानिन्छ । तर जुन पुरुषले अपराध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बलात्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लुटियो’ भन्ने कहिल्यै सुनिँदैन । महिलाको पवित्रता उनको योनीसंँग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गुप्तागसंँग नगाँसिनु अचम्म होइन र ? राज्यले महिलालाई भने जसरी भए पनि परिवार र समाजको ‘इज्जत’ बचाउन, आफ्नो योनीलाई पवित्र राख्नुपर्छ भन्ने सिकाइन्छ ।

    त्यही योनीको पवित्रता जाँच्न रामले सीतालाई अग्निपरीक्षा दिन लगाए, कतै रावणले बलात्कार गरेको छ कि भनेर, अर्थात रावणले सीताको ‘इज्जत’लुट्यो कि भन्ने ठानेर राम चिन्तित थिए । महिला बलात्कृत हुनु पनि उनको दोष मानिने र पुरुषचाहिँ सजायको भागी नहुने चलन कहिलेसम्म रहने ?

    कुनै महिला बलात्कृत भइन् भने पक्कै पनि छोटो लुगा लगाएर वा हाँसेर पुरुषलाई बलात्कार गर्न प्रेरित गरिन् होलिन समेत भनिन्छ । ‘बलात्कृत’ पुरुषले अपराध गर्यो भन्नेचाहिँ ठानिँदैन । त्यसैले प्रहरीले ‘बलात्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इज्जत त बच्नुपर्छ । महिलाचाहिँं जीवनभर ‘बलात्कृत’ को ‘ट्याग’ भिरेर हिँड्नुपर्छ

    यसरी महिलाको चरित्र, उनको योग्यता आदि सबै उनको योनीको ‘पवित्रता’ संँग जोडिने कहिलेसम्म होला ?महिलाको शरीर भोगकै लागिमात्रै हो भन्ने भावनाले अभिभावकले छोरीको ‘कन्यादान’ गरिदिन्छन् । दान दिएको वस्तुमा त ‘मालिकको’ मात्र अधिकार हुन्छ । त्यसैले लोग्नेको घरबाट पिटिएर, हिंसा सहेर निकालिएकी छोरीको माइतमा स्थान हुँदैन । जति हिंसा भोगे पनि आफू र आफ्नो ‘इज्जत’ बचाउन महिलाचुप लागिरहन्छिन् । लोग्नेको घरबाटनिकालिएमा अक्षत योनी नभएकैले उनको विवाह सजिलै हुँदैन ।

    सारमा, महिलालाई ‘बलात्कृत’ हुँदा उनी अपवित्र भइन् भनेर ‘छुवाछूत’ गर्ने, उनलाई र उनको परिवारलाई हेयको नजरले हेर्ने, उनको ‘जिन्दगी खत्तम भयो’ भन्ने विचार समाजका विभिन्न तप्कामा रहिरह्यो भने महिलाको सम्मान कसरी हुन्छ ? अहिल्या, सीताजस्तै पुरुषको लागि आफू ढुङ्गा बन्नुपर्ने, वनवास जानुपर्ने नेपाली महिलाको जीवन भइरह्यो भने समाज कसरी अगाडि बढ्ला ? महिलाको ‘इज्जत’ उनको ‘योनीको पवित्रतासंँग’ गाँसिएको छैन भन्ने आम बहस समाजमा कसले चलाइदेला ?

    (यो लेख डा. उप्रेतीको फेसबुकबाट लिइएको हो ।)


    मंसिर ८, २०७६ आइतवार ०५:००:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    मदनकृष्ण श्रेष्ठले भने– परिक्षीत नरसिंह राणापछि कुलमान घिसिङले मेरो मन जिते

  • 256
    SHARES
  • मदनकृष्ण श्रेष्ठले भने– परिक्षीत नरसिंह राणापछि कुलमान घिसिङले मेरो मन जिते

    मदनकृष्ण श्रेष्ठ । अहिले सम्झिँदा साँच्चिकै एका देशको कथा झैं लाग्छ मैले कर्मचारी संचय कोषमा जागिर खाइरहंदाका ती दिनहरु .‍‍....

    एउटा कार्यालयको प्रमुख व्यक्तिले आफुलाई दिइएको जिम्मालाई ईमान्दारिका साथ निभाई दिएमा आफ्नो क्षेत्रलाई भ्रष्टाचारको स्टन्टबाट मुक्त गरेर जनतालाई राहत दिन सकिन्छ भन्ने एउटा वास्तबिक उदाहरणको कथा थियो त्यो ... 

    मैले २०२३ सालदेखि करिब १२ वर्ष जागीर खाएको कार्यालय कर्मचारी संचय कोषका प्रशासक श्री परिक्षीत नरसिंह राणाले शत प्रतिशत आफु ईमान्दार भएर नेतृत्व दिएका कारण त्यसताकाका सबै कर्मचारिहरुलाई आफ्ना सेवाग्राहीहरुबाट घुसको त कल्पनै नगरौं एक कप चिया, एक खिल्ली चुरोट खान त के छुनसम्म पनि हिम्मत गर्न नसक्ने बनाई दिएका थिए ।

    सेवाग्राहीको तर्फबाट एक खिल्ली चुरोट लिईहालेमा  कुरा तुरुन्त माथि पुगि सक्थ्यो र त्यस ब्यक्तिलाई अपराधी मानेर उत्तिनैखेरै उस्लाई जागिरबाट सदाका लागि घोक्रेठ्याक लाईन्थ्यो। हायर एण्ड फायरको एउटा कडा उदाहरण थियो ।

    यो कुरा मैले मेरो आत्मकथा “महको म“ मा समेत लेखेकोछु । उहाँको नेतृत्वमा काम गरेका कर्मचारीहरु आजसम्म पनि प्रशासकज्यूप्रति गर्व गर्दछन।

    कुरा अझै अलि बाँकी छ । पछि उहाँको कार्यकाल सकपछि त्यत्रो ठूलो बित्तिय संस्था हाँकिरहेका व्यक्तिलाई अपमान गरे सरह एउटा सानु ईन्धन संस्थनमा सरुवा गरियो। 

    त्यहा पनि भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा लाग्नु भो पछि भ्रष्टाचारिहरु सबै मिलेर उहाँलाई नै त्यहाँबाट हटाई दिए । परिक्षीत नर्सिंह जस्ता ईमान्दार र नैतिकवान कर्मचारीहरु अरु पनि प्रशस्त छन हाम्रो देशमा तर उहाँहरु को को हुन म चिन्दिन । 

    सबैको भनौं या मेरो मन जितेको व्यक्तिहरुमा उनै परिक्षीत नरसिंह राणापछि उत्तिकै मन जितेका व्यक्ति हुन कुलमान घिसिङ ।
    उहाँहरु दुबै मेरा न साथीभाइ हुन न कुनै नातेदार नै । तर दुबैप्रति मेरो आत्मसम्मान छ। उहाँ जस्ता ब्यक्तीलाई सरकारले सदुपयोग गरेर इमान्दारीको पनि अनुकरण हुंदै जावस भन्ने मेरो मनको तमन्ना मात्र हो।


    आश्विन १, २०७७ बिहिवार १२:१६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # मदनकृष्ण श्रेष्ठ

  • क्यानाडानेपाल

    काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो, डा. पाण्डे भन्छन् - निषेधाज्ञा खुलेपछि सबैले निम्न कार्यहरु अबलम्बन गरौँ

  • 1.6K
    SHARES
  • काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो, डा. पाण्डे भन्छन् - निषेधाज्ञा खुलेपछि सबैले निम्न कार्यहरु अबलम्बन गरौँ

    काठमाडौं - काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएको छ । यस्तो अवस्थामा काठमाडौं उपत्यकामा सरकारले जारी गरेको निषेधाज्ञा भोलिदेखि लागु हुने गरि केही खुकुलो पारेको छ । 

    यसैबीच  कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा जानकारी दिदै आइरहेका डा. रवीन्द्र पाण्डेले केही सुझावहरु दिएका छन् । उनले निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गर्न सबैमा अनुरोध गरेका छन् । 
     
    उनले भनेका छन् - सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ ।  यो निर्णय आम जनताको पक्षमा छ ।  हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो ।  सरकारले बल हाम्रो हातमा दिएको छ। 
     
    अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ :
    - बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने । सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने ।  काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने ।  कुरा गर्दा मास्क लगाउने । 
    - मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने । 
    - खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ । 
    - घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने।  भीडभाडमा नजाने, भीडभाड नगर्ने। 
    - सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने ।  स्यानिटाइजरले हात सफा गरिरहने ।  बिशेष सतर्क हुने । 
    - हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने ।  मास्क नलगाएका ग्राहकलाई मास्क दिने ।  सबैको लागि ठूलो स्यानिटाइजर राख्ने ।  झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने । 
    - सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने । 
    - ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने ।  भीडभाड नगराउने । 
    - पसल र हरेक सामान संक्रमणरहित बनाउने । 
    - चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने । 
    - कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन ।  हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने । 
    - सामान किन्दा धेरै छान्ने काम नगर्ने ।  किनमेलको लिस्ट घरमै बनाएर जाने ।  पसलहरुमा एकदम छोंटो समय बिताउने ।  जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ। 
    - सकभर तरकारी बजारबाट तरकारी नकिन्ने ।   घर नजिकको पसलबाट किन्ने ।  बसेर छान्ने, छाम्ने काम नगर्ने ।  
    - डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन | तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने ।  लामो समय नबिताउने । 
    - भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने ।  कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन ।  पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन |
    - बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने ।  क्यासलेस लेनदेनलाई प्रेरित गर्ने | टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने ।  फाइललाई डिजिटल बनाउने । 
    - रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने ।  बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ । 
    - सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने । 
    - आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ ।  यो सुत्र सबैले अपनाउने । 
    - कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने । 
    - ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो । 
    - हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ । संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन ।  हामी पनि सुरक्षित हुन्छौं । 


    भाद्र २४, २०७७ बुधवार १९:३८:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क

    गगन थापाको प्रधानमन्त्रीलाई आग्रह, कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली बर्साउने हैन, जनतासँग संवाद गर्नुस्

  • 1.3K
    SHARES
  • गगन थापाको प्रधानमन्त्रीलाई आग्रह, कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली बर्साउने हैन, जनतासँग संवाद गर्नुस्

    गगन थापा । काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

    तर प्र.जि.अ.हरूले प्रस्तुत गर्नु भएको धारणा र सरकारले सबै जिम्मेवारी प्र.जि.अ.हरु लाई दिएको वर्तमान अवस्थामा, जिल्ला प्रशासनले जारी गर्दै गरेको अहिलेको निषेधाज्ञाका सन्दर्भमा भने अब गम्भिर भएर छलफल र प्रश्न उठाउन आवश्यक छ । जिल्ला प्रशासनको विज्ञता शान्ति सुरक्षा कायम गर्न जारी गर्ने निषेधाज्ञामा हो । अहिले जारी गरिएको निषेधाज्ञा शान्ति सुरक्षा कायम गर्नका लागि गरिएको होईन ।

    अहिलेको अवस्था जनस्वास्थ्यसंग जोडिएको विषय हो । फेरी जिल्ला प्रशासन र प्र.जि.अ.हरूको विषयगत विशेषज्ञता जनस्वास्थ्यको विषयमा पक्कै होईन । जनस्वास्थ्यको दृष्टिले निषेधाज्ञा आवश्यक देखिए सो को कार्यान्वयनका लागि जिल्ला प्रशासन र प्र.जि.अ. लाई गुहार्नु पर्ने हो । तर जनस्वास्थ्यको विषयलाई नजरअन्दाज गरेर निषेधाज्ञा जस्तो संवेदनशिल विषय कार्यान्वयन गर्ने निकायलाई नै सवै निर्णय गर्ने जिम्मेवारी पनि थोपेर राजनीतिक नेतृतव जसरी पन्छिन खोजेको छ यो दुर्भाग्यपूर्ण छ । यसले महामारी विरुद्धको यो लडाईलाई झन् कमजोर बनाउँछ ।

    आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति केबल दुई स्थानमा भेटिन्छ । पहिलो निषेधाज्ञा घोषणा गर्ने प्र.जि.अ. को रुपमा र दोस्रो साँझ ४ बजे कोरोना सम्बन्धी आँकाडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रुपमा । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आईसोलेसनमा छ । संसद बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन, आम-नागरिक र जन-प्रतिनिधिको कुरा सरकारसम्म पुर्‍याउने सब माध्यम बन्द छन्, अनि प्र.जि.अ. को घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नु पर्ने ?

    केही अघि प्रधानमन्त्रीलाई सार्बजनिक रुपमा गरेको ध्यानाकर्षणमा भनेको थियौं "काठमाडौं उपत्यका लगायत केही हटस्पटहरूमा २ हप्ता कडाई गरौं, तर यो अवधिमा जनतालाई घरमा राखेर सरकार नसुतोस् । संभाव्य जोखिम आंकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रीत लगायत सम्पूर्ण तयारी यसै समयमा गरेर , २ हप्तापछि जनजिवन सहज वनाउन सक्नेगरी गर्नुपर्ने काम यो अवधिमा गर्नुपर्छ । कठिन अवस्थाको सामना गर्न जनतालाई सहायता प्याकेजको व्यवस्था गरियोस् । यसो नगरेर एकोहोरो 'घर वास- सुरक्षित वास' भनेर मात्र हुँदैन ।" तर, अफसोच तीन हप्ता पुगिसक्यो त्यस्तो गर्नुभएन।

    अब त हुँदा हुँदा सरकारले रोग र भोक बाट आहत नागरिकलाई सिडियो र प्रवक्ताको भरमा छोड्दिन थालेको छ, यो रोकियोस् । सिडियो र प्रवक्ताको पछाडी लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसंग संवाद गर्ने हिम्मत गरोस् । अनेकन समस्याका बावजुद सिडियोको आदेश मानेर आम नागरिक घर भित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस् । स्वास्थ्यको क्षेत्रमा के के तयारी भयो ? संक्रमितको संख्या थपिँदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो? काम नै नगरिरहेको रेस्पोन्स सिष्टमलाई कहाँ कहाँ बदलियो ? के-के गर्दै जाने योजना छ? लकडाउन/निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको , वा लकडाउन गरिरहने सोच हो ?

    सरकार, हामीलाई बताउ कि, तिम्रो आदेश मानिरहँदा चुलो बन्द भएकाहरुको पेटको आगो निभाउन तिम्रा के-के योजना छन् ? बहाल तिर्न नसकेर बेघर भएकाहरुलाई छानो दिन तिमी के-के गर्दै छौ, र कहिले सम्म गर्दै छौ ? बाध्य भएर रोजारीबाट बेदखल भएका बेरोजगारहरुलाई फेरी रोजगारीमा फर्काउन तिम्रा योजना के-के छन् ? आथाह परिश्रमबाट अलि अलि गरेर तङ्ग्रिएका स-साना व्यपार र व्यवसाय थला परेर जिवन भरीको पूंजी एन निमेषमा निमिट्यान्न भइरहँदा, त्यस्ता व्यपार र व्यवसायलाई आड र भरोस दिने तिम्रा कार्यक्रम के-के हुन् ? रोगको भन्दा पनि भोकको पिरले मल खोज्न लामबद्ध हजारौं किसानका लागि ५ किलो मलको पनि समयमा जोहो गर्न नसकेको सरकारले ति किसानका लागि के के गर्‍यो, के गर्दैछ?

    स्वदेशमै केही गर्न सकिन्छ कि भनेर हजारौं माइलको कष्टकर यात्रा गरेर आएर पनि फेरी कुनै उपाय नभएर फर्कदै गरेका श्रमिक रोक्ने योजना के छन? यातायात मजदुरदेखि दैनिक ज्यालादारीमा काम गर्नेसम्म, विभन्न पेसा व्यवसायमा लागेर महामारीकै कारण चुलो निभेकाहरूका लागि सरकारले के सोचेको छ? दिनहूँ औषधि खाएर प्राण धान्नुपर्ने दीर्घरोगीदेखि नियमित स्वास्थ्य उपचार पाउन नसकेर मृत्युको मुखमा पुग्न वाध्य अनि गर्भवती महिला, वालवालिकाहरूका बारेमा के सोँच छ? जीवन जिउनका लागि अन्य कुनै उपाय नदेखेर आत्महत्या गर्न विवश हजारौं अनि नैराश्यता र उच्च मानसिक तनावमा बाँचिरहेका लाखौं नागरिकको अबस्था कसरी संवोधन गर्छौ?

    यो सबै विषयमा राजनीतिक नेतृत्व नबोल्ने नै हो, आफ्ना कर्मचारीको अनुहार देखाएर काम चल्छ भन्ने लागेको हो र सिडियोको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको ‍प्रवक्ताको मुखबाट कोरोना-अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने, प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ । कृपया नागरिकको धैर्यताको जाँच नगर्नुहोस् । कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस् ।

    यस्तै चलिरहने हो भने,नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन् । कोरोनाको अहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्नेछ । देशलाई जानी जानी त्यस्तो संकटतर्फ नधकलौं । सरकारको अकर्मण्यता र गैर जिम्मेवारी प्रवृत्तीबाट कुनै संकट उत्पन्न नहोस् भन्ने चाहना सबैको हो । सरकार र राजनीतिक नेतृत्वमा जिम्मेवारी बोध र ईमानदारिता हुने हो भने अझै बिग्रेको छैन ।

     


    भाद्र २४, २०७७ बुधवार ११:५८:२१ बजे : प्रकाशित

    राप्रपा नेताको गीता छोएर खाएको कसम झापाली जँड्याहाको जस्तो नहोस्

  • 1.4K
    SHARES
  • राप्रपा नेताको गीता छोएर खाएको कसम झापाली जँड्याहाको जस्तो नहोस्

    गाेपाल पाैड्याल । गत निर्वाचनमा नमिठो पराजय बेहोरेपछी अन्ततः दुई पार्टी राप्रपा र राप्रपा(संयुक्त) २०७६ फाल्गुन २४ गते पार्टी एक हुने आधारपत्रमा हस्ताक्षर भएको थियो । तीन पार्टी अध्यक्ष रहनेगरि आधार पत्र तयार गरि झण्डै आधा रातमा हस्ताक्षर हुँदा कार्यकर्तामा धेरै ठुलो उत्साहको संचार भएको थियो। भव्य रुपमा एक समारोह बीच तीनै अध्यक्षहरुले हिन्दुहरुको धर्म ग्रन्थ गीता हातमा लिएर कसम खादैँ अब उप्रान्त पार्टी फुटाउने छैनौँ र फुटाउन दिने पनि छैनौँ भन्दा कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरुले गड्गडाहट ताली पाएका थिए । 

    तालीकोसाथमा साइँसाइँ र सुईंसुईंको ठूलो समर्थनसमेत प्राप्त गरेका थिए। पछिल्लो समय नेता, कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकमा आएको त्यो जोश जाँगर र उत्साह धेरै लामोसम्म टिक्न सकिरहेको छैन। नेताहरु एकआपसमा मिल्न सकिरहेका छैनन् । त्यो एकतालाई भावनात्मक एकताको रुपमा अगाडि लैजानको निमित्त के कुराले बाधा अड्चन परेको छ, त्यो बुझिनसक्नुको पहेली बनिरहेको छ। एकीकरणलाई निश्कर्षमा पुर्याउनुको सट्टा एकआपसमा आरोप प्रत्यारोपको अनन्त श्रृंखला स्पष्ट रुपमा देख्न सकिन्छ । गीता छोएर कसम मात्र नखाएको भए अस्ति नै आ–आफ्नो बाटो लागि सक्ने थिए भन्दा अतिशयोक्ती नहुने परिस्थिति घाम जत्तिकै छर्लङ्ग देखिन्छ। 

    १२÷१५ वर्ष संघर्ष गरेर सबैले छोडेको र फालेको संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रलाई एजेन्डाको रुपमा स्थापित गराउन सफल भएको र हामीले यो एजेन्डा बोक्दा कहिले मारिने हो र कहाँ लखेटिने हो भन्ने अवस्थामा ज्यानको प्रवाह नगरी ठूलो संघर्ष र बलिदानबाट स्थापित गरिएको मूल मर्मलाई छोडेर अगाडि बढ्नु भनेको आम कार्यकर्ता र नेपाली जनतालाई धोका दिनु हो भन्नुहुन्छ, कमल थापा । उहाँको भनाई छ, बरु चुनाव चिन्हमा साथीभाइहरुसँग सल्लाह गरेर लचकता अपनाउन सकिएला, तर पार्टीको मूल नीति सिद्धान्तै छोडेर अगाडि जानु भनेको सरासर धोका हो र यसरी अगाडि बढ्नु गलत हुन्छ। 

    कमल थापा निकट एक नेता भन्छन, हिजो पटक पटक सत्तामा गयो, धर्म बेच्यो भनेर आरोप लगाउनेहरु अहिले पनि जीवितै छन् र कमल थापाले कहाँ गल्ती गर्छ र फेरि सत्तोसराप गरौँ भनेर बसेका छन् र फेरि नीति सिद्धान्त र चुनाव चिन्हमा सम्झौता गर्यो भने तिनैले भन्नेछन, कमल थापाले गाई बेच्यो, नीति सिद्धान्त बेच्यो भनेर । त्यसैले उनी भन्छन्, ‘अहिले धर्म सड्ढटको अबस्था छ, जे गर्दा पनि आगामि यात्रा कठिन हुनेछ ।’

    हामी नीति सिद्धान्तमा अडिग छौँ। संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रमा हाम्रो कुनै दुविधा छैन ।  सिद्धान्तप्रति हाम्रो अविचलित प्रतिबद्धता रहनेछ, बरु हामी समाप्त हुन तयार छौ, सिद्धान्त र विचारलाई परित्याग गर्न नसक्ने दृढता थापाको छ । एकीकरणको विधि र प्रकृया मिलाएर अगाडि बढौँ, हामी राप्रपा प्रवेश गर्ने होइन दुई पार्टी एकीकरण हो, सम्मानजनक एकीकरणको प्रकृयाबाट कसैको मान प्रतिष्ठा र स्वाभिमानमा ठेस नपुग्ने गरी एकिकरणको प्रकृयामा जाउ भन्नुहुन्छ डा. प्रकाशचन्द्र लोहनी । एकता नै बल हो एकताको विकल्प छैन । विधि सम्मत एकता गरौँ । डा. लोहनीको भनाइ छ। उहाँ भन्नुहुन्छ,  ‘विधिसम्मत रुपा निर्वाचन आयोग जाऔँ ।’

    पशुपति शमशेर राणा पनि जसरी पनि एकता प्रकृया टुङ्गोमा पु¥याउँ भन्नुहुन्छ । जिन्दगीको उत्तराद्र्धमा मेरा धेरै ठुलो इच्छा आकांक्षा छैनन् । यो पार्टीलाई एक गराएर सम्पूर्ण कार्यकर्ताको राजनैतिक भविष्य सूनिश्चित गराउने र वेथेतिमा चलेको देशलाई थितिमा ल्याउने हो भन्नुहुन्छ राणा । 

    एकथरी झिनो रुपमा भने पनि नेता कार्यकर्ताहरु कुनै हालतमा पार्टी मिल्नुहुन्न भनेर पनि हिँडिरहेको अवस्था छ । पार्टी नमिलाउन दबाब दिइरहनु भएको छ । हिजो तीन वटा पार्टी मिल्दा ठूल्ठूला पदहरुमा बसेकाहरु अब पार्टी एक भएपछि हिजोको हैसियत होला कि नहोला भनेर चिन्तित् रहेका छन् । जिन्दगीमा कुनै तहको निर्वाचनमा भाग नलिनेहरु चुनाव चिन्हमा बढी बहस गरिरहेका छन् । चुनाब लड्न नपर्ने, पार्टी संगठन र निर्माणमा कुनै भूमिका खेल्नुनपर्ने, तर चुनाव चिन्हको विषयलाई चाहिँ प्रतिष्ठाको विषय बनाउन खोज्ने तुकविहिन तर्क पनि यदाकदा उठिरहेका छन् ।कोही ठूला नेताले कहाँ गल्ती गर्छन् र च्याप्प घाँटीमा समाउँला भनेर ढुकेर बसेको पाइन्छ ।

    केही व्यक्ति कुन्ठा र पूर्वाग्रहको फोहोरी आहालमा चुर्लुम्म डुब्न घिनाउँदैनन् । एकोहोरो व्यक्तिको निन्दामा रमाइरहेको पाइन्छ, जसले कुनै अर्थ राख्दैन । अहिलेको वास्तविक आवस्यकता के हो ? मुलुकले, कार्यकर्ताले, शुभचिन्तकले के अपेक्षा गरेका छन्, त्यसको कुनै समीक्षा र विश्लेषण नगरी एकोहोरो डम्फु बजाइले यो कहिँ नपुग्ने यात्रा बन्न जानेछ । गन्तव्य बिनाको यात्रा टुंगोमा पुग्दैन। 

    एकता नै बल हो । अब पनि एकता भएन भने नेता कार्यकर्ता मात्रै हैन यो धार नै समाप्त हुन्छ भनी चिन्ता गर्छन्, नेता बुद्धिमान तामाङ । व्यक्तिगत स्वार्थभन्दा माथि उठी एजेन्डामा स्थापित हुने गरी अगाडि बढ्नुपर्ने बताउनुहुन्छ नेता तामाङ । पार्टी जसरी पनि मिल्छ, हामी मिलाउँछौ, कोही नेता कार्यकर्ता र विचलित नहुन आह्वान गर्छन्, अर्का नेता दिपक बोहरा । तर गाँठो कहाँ बाँधिएको छ, थाहा छैन ।

    गीता समाएर कसम खाएको सन्दर्भ एउटा रमाइलो प्रसंग उल्लेख गर्दछु । झापामा एकजना सामाजिक व्यक्तित्वले अत्याधिक मादकपदार्थ सेवन गर्न थालेछन्, त्यसपछि नजिकको साथीभाइले इलाममा रहेको सानो पाथिभरा मन्दिरमा लिएर गएछन् । मन्दिरमा छुवाएर कसम खान लाएछन । र ती व्यक्तिले पनि अबदेखि जाँड रक्सी खान्न हे पाथिभरा देवी भनेर कसम खाएर फर्किएछन् । दिन बित्दै गयो, हप्ता महिना हुँदै छ महिना बितेछ । त्यस बिचमा ती व्यक्तिलाई मादक पदार्थ खान अधिक इच्छा भएछ ।

    बेकारमा मन्दिरमा गएर कसम खाइएछ भनेर ठूलो पछुतो भएछ । त्यसपछि आफ्ना निकटकाहरुसँग सल्लाह गरेछन् र फेरि सोही सानो पाथिभरा मन्दिरमा गएछन् र मैले नखाइ सकिन माफी गर्देऊ माता भनेर फेरि रक्सी खान थालेछन् । त्यस्तै हाम्रा नेताहरुले पनि त्यसै गरी राष्ट्रिय सभागृहमा गएर मान्छे बोलाएर गीता समाएर गल्ती भएछ भन्दै आआफ्नो बाटो लाग्नुपर्यो या आआफ्नो हठ छोडेर त्यागको राजनीति सुरु गर्नुपर्यो । यसैमा सबैको भलो छ । इतिहासले कहिल्यै क्षमा नगर्ने बाटो प्रत्युत्पादक हुनेछ ।


    भाद्र २३, २०७७ मंगलवार ११:२८:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • क्यानाडानेपाल

    डा. रवीन्द्र पाण्डे भन्छन् - 'लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ'  

    डा. रवीन्द्र पाण्डे भन्छन् - 'लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ'  

    काठमाडौं  - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमण बढ्दै गएपछि अहिले देशका बिभिन्न स्थानमा निषेधाज्ञा गरिएको छ । 

    यस्तो अवस्थामा डा. रवीन्द्र पाण्डेले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा जानकारी दिइरहेका छन् । 

    यसैबीच डा. रवीन्द्र पाण्डेले लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गर्न सुझाव दिएका छन् । 

    उनले भनेका छन् - बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं । लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो ।  त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट बिस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो | साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा ब्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नु पर्थ्यो ।  मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सिमित गर्दा संक्रमण घट्नुको साटो बढ्दै गयो । 
     
    सरकारले गर्नुपर्ने काम :
     - अब सरकारले निषेधाज्ञा हटाएर धेरै भीडभाड हुने क्षेत्र ( स्कुल, कलेज, फ्लिम हल आदि ) बाहेक अन्य गतिबिधि सुचारु गर्ने । 
    - मास्क, साबुन तथा स्यानिटाइजरलाई हरेक स्वास्थ्य संस्था, क्लब, टोल आदिमा निशुल्क उपलब्ध गराउने । 
    - जनपरिचालन गरेर जनस्वास्थ्य चेतनाको अभियान संचालन गर्ने । 
    - स्थानीय निकायमार्फत मास परीक्षण, आइसोलेसन तथा राहतको काम गर्ने । 
    - सरकारी संयन्त्रले गल्ली, बस्ती, टोल, सडक, चोक, भीडभाड हुने कार्यालय आदिमा सघन अनुगमन, निगरानी तथा जनस्वास्थ्यका मापदण्ड ब्यबस्थापन गर्ने । 
    - सिमानाकालाई कडाइ गर्ने । 
    - संक्रमित क्षेत्रलाई मात्र शिल गर्ने । 
    - संक्रमण कम भएका जिल्लामा लामोदुरीका यातायात संचालन गर्ने । 
    - सहरमा बस्न गाह्रो भएका व्यक्तिहरुलाई आफ्नो घरमा गएर खेतीपाती गरेर खाने बाताबरण निर्माण गर्ने। 
    - ठूला बस मापदण्ड पुरा गरेर संचालन गर्ने ।  माइक्रोबसलाई एम्बुलेन्सको रुपमा र टेम्पुलाई सामान बोक्ने गरि सुचारु गर्ने । 
    - चाडपर्वको लागि भीडभाड नहुने वातावरण निर्माण गर्ने । 
    - अस्पतालका क्षमता बढाउने ।  जनताको पहुँच बढाउने । 
    - सुशाशान, मितव्ययिता, जिम्मेवार र पारदर्शी किसिमले कार्य सम्पादन गर्ने । 
    - जनताको जीवन र जीविका बचाउने सरकारको दायित्व हो । 
    - जनताको मनोबल बढाउने, मनोपरामर्श सेवा प्रदान गर्ने तथा देशलाई नै उत्साहको मार्गमा अग्रसर गराउने । 

    नागरिकले गर्नुपर्ने काम :  
     - ६५ बर्ष नाघेका, दीर्घरोगको औषधि सेवन गरिरहेका तथा बालबालिका घरमै बस्ने । सकभर घरभित्र पनि घुलमिल नभएर बस्ने । 
    - सक्रिय उमेरका व्यक्तिहरु काममा निस्किने ।  घरबाहिर जाँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने ।  सकेसम्म हरेक ठाउँमा २ मिटरको दुरी पालना गर्ने ।  साबुनपानीले  हात धोइरहने ।  साबुनपानी नभए स्यानिटाइजरले हात सफा गर्ने ।  भीडभाड नगर्ने । 
    - घरमा आएपछि कपडा, मास्क, चस्मा, झोला, पंजा आदि घरबाहिर राखेर तथा नुहाएर मात्र परिवारमा घुलमिल हुने । 
    - आफु, आफ्नो परिवार र समाजलाई रोग लाग्न नदिन हरसम्भव प्रयत्न गर्ने । 
    - हल्ला, भ्रम तथा सनसनीपूर्ण कुराको विश्वास नगर्ने । आधिकारिक निकाय तथा स्वास्थ्यकर्मीको सल्लाह विश्वास गर्ने । 
    - पुरानो कामबाट बिस्थापित वा बेरोजगार भएमा कृषि, पशुपंक्षी पालन, गाउँको उत्पादन बजारमा ल्याएर बिक्रि गर्ने आदि नयाँ र कम जोखिमयुक्त काम अपनाउने । 
    - समाजमा एकले अर्कोलाई सहयोग गर्ने । डा. रवीन्द्र पाण्डे
    - जुन ठाउँमा आफुलाई सजिलो, सुरक्षित र रोजगारीको अवसर मिल्छ, त्यहि ठाउँमा बस्ने । 
    - धेरै डर नमान्ने, निरास नहुने ।  सबै सतर्क भयौं भने यो अवस्था नियन्त्रणमा आउँछ । 


    भाद्र २२, २०७७ सोमवार १८:३२:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क

    पूर्वसचिव त्रिताल भन्छन्, नेताहरुको संरक्षण गर्न संविधानमा जताततै छिद्राहरुको व्यवस्था 

  • 410
    SHARES
  • पूर्वसचिव त्रिताल भन्छन्, नेताहरुको संरक्षण गर्न संविधानमा जताततै छिद्राहरुको व्यवस्था 

    शारदाप्रसाद त्रिताल । हाम्रा नेताले आफ्ना लागि धेरै गरेका छन् । हाम्रा नेताहरुले २०४८ सालदेखिको अनुभवका आधारमा बहुत विचार गरेरै नयाँ संविधान निर्माण गरेका रहेछन् । संविधानमा जताततै छिद्रहरु राखेर नेताहरुको संरक्षण गर्ने व्यवस्था पो गरिएको रहेछ ।

    १ प्रधानमन्त्रीमा धेरै समय टिक्न पाइयोस् भनेर संसदीय व्यवस्थाको मूल्य मान्यता विपरीत संसदले चाहेका बखत प्रधानमन्त्री हटाउन नसक्ने व्यवस्था गरेका रहेछन् । भन्ने वेलामा स्थिरताका लागि भनेर सबैलाई लोप्पा खुवाएकै हुन् ।

    २ सांसदको जागिर ५ वर्षमा नघटोस् भनेर संसद विघटन गर्ने व्यवस्था नराखेको रहेछ । भन्ने वेलामा प्रधानमन्त्रीलाई सनक चल्यो भने संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गर्दा राष्ट्रको ठूलो धनराशी खर्च हुन्छ भने ।वास्तवमा यी दुबै व्यवस्था सांसद हुने र प्रधानमन्त्री हुनेवालाहरुको मिलोमतोमा भएको रहेछ ।

    ३ लोकमान सिं कार्कीलाई सबै दल मिलेर सिफारिस गरेर प्रमुख आयुक्त बनाए र उहाँकै हाउगुजी देखाएर समानान्तर सरकार चलाउन दिनु हुँदेन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार कटौती गरे । यो लोकमानलाई देखाएर भ्रष्टाचारको आरोपबाट आफ्नै सुरक्षा पो गरिएको रहेछ ।

    ४ राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने सीटको व्यवस्था राष्ट्रपतिको सम्मान र विशिष्ट व्यक्तित्वको उपस्थिति गराउन होइन रहेछ सत्ता समीकरणमा लेनदेन मिलाउन निर्वाचनमा जनताले अस्वीकृत गरेकाहरुलाई थन्क्याउने व्यवस्था पो गरिएको रहेछ ।

    ५ यस्ता कुरामा नेताहरुले सूक्ष्म विश्लेषण गरेका रहेछन् र पो संविधान सभाबाट निर्माण गर्ने संविधान निर्माण प्रक्रिया पनि पूरा नगरी संविधान जारी गरेका रहेछन् ।

    ६ संविधान जारी गर्ने वेलामा भारतको हस्तक्षेप देखाएर छिटो छिटो संविधान किन जारी गरे भनेको त यस्ता छिद्रहरु जनताले केलाउलान् र वित्यास पर्ला भनेर पो रहेछ ।

    (लेखक शारदाप्रसाद त्रिताल नेपाल सरकारका पूर्वसचिव हुन् ।)


    भाद्र २१, २०७७ आइतवार १५:१४:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संविधान

  • क्यानाडानेपाल