• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

चिनियाँ राष्ट्रपतिले नयाँ अवधारणा प्रस्ताव गरे लगत्तै चिनियाँ राजदूतले नेपाललाई किन निम्तो गरिन् ? नेपाली विज्ञ के भन्छन्?

आश्विन ९ २०७८
  • 2.2K
    SHARES
  • images
    images
    चिनियाँ राष्ट्रपतिले नयाँ अवधारणा प्रस्ताव गरे लगत्तै चिनियाँ राजदूतले नेपाललाई किन निम्तो गरिन् ? नेपाली विज्ञ के भन्छन्?

    कोरोनाभाइरसको महामारीका कारण खुम्चिएको विश्व अर्थ व्यवस्था र आर्थिक विकासलाई पुनरुत्थान गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै साता अघि सारेको 'विश्वव्यापी विकासको अवधारणा' मा नेपाल सहभागी हुने अपेक्षा एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले राखेकी छन्।

    images

    संयुक्त राष्ट्रसङ्घको महासभामा भिडिओ सन्देशबाट मन्तव्य राख्दै चिनियाँ राष्ट्रपति सीले कोभिड-१९ ले पुर्‍याएको गम्भीर आघातसँग जुझिरहनु परेकाले विश्वव्यापी विकासलाई गति प्रदान गर्न सबैले सन्तुलित, समन्वयकारी र समावेशी वृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका थिए।

    उनले प्रस्ताव गरेको 'ग्लोबल डेभलप्मेन्ट इनिसिएटिभ'मा ६ वटा मुख्य प्राथमिकता तोकिएका छन्।

    आफ्ना राष्ट्रपतिको नयाँ प्रस्ताव नेपालका लागि पनि सान्दर्भिक भएको धारणा राख्दै काठमाण्डूस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई उक्त विकास अवधारणामा स्वागत गरिने बताएकी छन्।

    अमेरिकी सुरक्षा रणनीति इन्डो प्यासिफिक र उसको विकास सहयता कार्यक्रम मिलेनिअम च्यालेन्ज कर्पोरेसनले निम्त्याएको चर्को धुव्रीकरणमाझ चिनियाँ प्रस्तावबारे काठमाण्डूले राख्ने धारणा प्रस्ट भइसकेको छैन।

    चिनियाँ राष्ट्रपतिको प्रस्तावमा के भनिएको छ?
    राष्ट्रपति सीको प्रस्तावमा विकासलाई वृहत् नीति एजेन्डामा प्राथमिकतामा राख्ने, प्रमुख अर्थतन्त्रहरूबीच समन्वय गर्ने र नीतिगत निरन्तरता दिँदै राष्ट्रसङ्घले सन् २०३० सम्मका लागि निर्धारण गरेका दिगो विकासका मुद्दाहरूको कार्यान्वयनलाई गति दिनुपर्ने भनिएको छ।

    मानवको जनजीविकाको सुरक्षा र सुधारमा जोड दिँदै उनको प्रस्तावमा विकासको लाभ सबै मानिसहरूसम्म पुग्नुपर्ने उल्लेख गरिएको छ।

    तेस्रो बुँदामा विकासशील देशहरूको विशेष आवश्यकतामा ध्यान दिनुपर्ने भन्दै ऋणको निलम्बन र विकास सहायतामार्फत् विशेष जोखिममा रहेका देशहरूमा रहेका असन्तुलित विकासलाई सम्बोधन गरिनुपर्ने भनिएको छ।

    कोभिडपछिको युगमा विज्ञान र प्रविधिले विकासमा टेवा पुर्‍याउन सक्ने भन्दै अन्वेषणले डोर्‍याउने विकासमा प्रतिबद्ध रहनुपर्ने जोड राष्ट्रपति सीको छ।

    त्यसबाहेक मानव र प्रकृतिबिचको सुमधुर सम्बन्धमा जोड दिएका चिनियाँ राष्ट्रपतिले सबैले विश्वव्यापी वातावरणीय सरोकारहरू र जलवायु परिवर्तनका मुद्दाहरूलाई सक्रियतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्।

    उनले चीनले विकासशील देशहरूलाई हरित र कम कार्बन उत्सर्जन गर्ने ऊर्जा विकासका लागि सघाउने प्रतिबद्धता जनाउँदै विदेशमा कोइलाबाट चल्ने ऊर्जा भट्टी निर्माण नगर्ने घोषणा गरेका छन्।

    छैटौँ तथा अन्तिम बुँदामा परिणाम दिने गरी कदम चाल्ने भनिएको छ र त्यसमा विकासशील देशहरूलाई कोभिड १९ को प्रतिकार्य र आर्थिक तथा सामाजिक पुनरुत्थान लागि बेइजिङले आगामी ३ वर्षमा ३ अर्ब डलर अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउने जनाएको छ।

    चीनले उक्त प्रस्तावबाट नेपाललाई देखेको फाइदा?
    शुक्रवार आयोजना गरिएको एउटा भिडिओ अन्तरक्रियामा सम्बोधन गर्दै काठमाण्डूस्थित चिनियाँ राजदूत होउ यान्छीले विश्व इतिहासकै संवेदनशील मोडमा रहेका बेला राष्ट्रपति सीको प्रस्तावले विश्वलाई नै फाइदा पुर्‍याउने किसिमको चिनियाँ समाधान प्रस्तुत गरेको बताइन्।

    उनले चीनको महत्त्वाकाङ्क्षी पूर्वाधार विकास सम्बन्धी बेल्ट एन्ड रोड परियोजना अहिले घोषणा गरिएको विश्वव्यापी विकास अवधारणाको प्रमुख वाहक रहेको उल्लेख गरेकी छन्।

    नेपालले सन् २०१७ मा नै उक्त अवधारणामा हस्ताक्षर गरेपनि त्यस अनुसार ठूला परियोजना छनौट र निर्माणका काम अघि नबढेका कैयौँ विज्ञहरूले बताउने गरेका छन्।

    तर राजदूत यान्छीले कोरोनाभाइरसको महामारीकाबीच पनि नेपाल र चीनको सहकार्य अघि बढेको भन्दै स्वास्थ्य, सम्पर्क सञ्जाल, हरित विकास र पर्यावरणलाई दुई देशको साझा भविष्यका रूपमा प्रस्तुत गरेकी थिइन्।

    उनले चीनले नेपाललाई व्यावसायिक रूपमा एक करोड मात्रा खोप उपलब्ध गराएको र ४४ लाख मात्रा खोप अनुदानमा दिने निर्णय गरेको बताइन्।

    महामारीका माझ हिमालय वारपार बहु आयामिक सम्पर्क सञ्जाल अन्तर्गत निर्माणका काम चलिरहेको उल्लेख गर्दै उनले टोखा छहरे सुरुङको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको जनाएकी छन्।

    त्यसबाहेक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सकारात्मक प्रगति गरिरहेको र अरनिको राजमार्गको दीर्घकालीन पुनर्निर्माण सुरु भएको उनको भनाइ छ।

    बेल्ट एन्ड रोड सहकार्यको प्रमुख विशेषता हरित विकास भएको बताउँदै उनले चीन नेपाल सहकार्यको सम्पूर्ण क्षेत्रमा हरित विकासको योजना लागू गरिने उल्लेख गरिन्।

    अघिल्लो साल नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ मापन गरेको सन्दर्भ प्रस्तुत गर्दै चिनियाँ राजदूतले पृथ्वीको 'तेस्रो ध्रुव' को संरक्षण गर्ने साझा जिम्मेवारी दुवै देशको भएको बताइन्।

    केही समय पहिले तिब्बतको भ्रमण गर्दा चिनियाँ राष्ट्रपति सीले उक्त क्षेत्रको पर्यावरण रक्षामा जोड दिएको उल्लेख गर्दै दुवै देशको संयुक्त प्रयासले हिमालय क्षेत्रको पर्यावरणीय वातावरण थप सुधार हुने र त्यसले दुवै देशलाई लाभ पुर्‍याउने राजदूत यान्छीको तर्क छ।

    नेपालसँग सहअस्तित्व र पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध थप अघि बढाउन चाहेको उनले बताइन्।

    उनी भन्छिन्, "चीन नेपाललाई विश्वव्यापी विकास अवधारणामा सहभागी हुनका लागि स्वागत गर्छ र विकास रणनीति, उच्चस्तरको लक्ष्य पुरा गर्ने सहकार्य, मानव केन्द्रित र दिगो विकास र बेल्ट एन्ड रोड सहकार्यमा गहिरो साझेदारी निर्माण गरेर विकासको प्रतिफल बाँड्ने हिसाबमा नेपालसँग काम गर्न इच्छुक रहेको छ।"

    नेपाली विज्ञ के भन्छन्?
    काठमाण्डूस्थित एउटा संस्था नेपाल इन्स्टिच्यूट फर इन्टनरन्याशनल कोअपरेशन एन्ड इन्गेजमेन्टका अनुसन्धान निर्देशक प्रमोद जैसवाल चिनियाँ प्रस्ताव नेपाल मात्रै नभइ धेरैवटा देशलाई लक्षित गरेर आएकाले त्यसको प्रभाव यहाँ मात्रै नपर्ने ठान्छन्।

    उनले भने, "हामीले बेल्ट एन्ड रोडमा हस्ताक्षर गर्‍यौ त्यो कति सफल रह्यो रहेन हामी सबैले देखिरहेकै छौँ। अहिले यो पनि एउटा उद्देश्यले आएको छ। कति परियोजना गर्छन् र कस्तो खालको प्रतिस्पर्धा देखिन्छ त्यो हेर्नै बाँकी छ।"

    कैयौँ ठाउँहरूमा बेल्ट एन्ड रोड परियोजनामार्फत चीनले गरेका लगानीलाई ऋणको पासोका रूपमा टिप्पणी गर्ने गरिएको छ भने कतिपयले कोरोनाभाइरस देखा पर्नुमा पनि चीनमाथि औँला ठड्याइरहेका छन्। तर चीनले आफूमाथि लगाइने गरिएका ती आरोपहरू अस्वीकार गर्ने गरेको छ।

    जैसवाल थप्छन्, "विवादहरू कम गर्नलाई र अहिले जस्तो चर्चा छ त्यसलाई मत्थर पार्न नयाँ अवधारणा ल्याइएको हुनसक्छ। चीनले भाइरस ल्यायो भन्ने आरोपहरूलाई बिर्साउनका लागि पनि स्वास्थ्यलाई एकदमै प्राथमिकता दिन्छ जस्तो मलाई लाग्छ। त्यसबाहेक शिक्षालाई पनि प्राथमिकता दिन्छन् होला।"

    चीनले हालसम्म उसको बेल्ट एन्ड रोड परियोजनामा १४० वटा देशले हस्ताक्षर गरिसकेको बताउने गरेको छ।चीन र उक्त परियोजनामा आबद्ध देशहरूबीचको व्यापार ९.२ ट्रिलियन डलर भन्दा बढी रहेको भनिएको छ।

    चिनियाँ कम्पनीहरूले बीआरआईमा सामेल देशहरूमा गरेको लगानी १ खर्ब ३० अर्ब डलर भन्दा बढी पुगेको चिनियाँ सरकारले बताउने गरेको छ।

    *चिनियाँ राजदूतले टोखा छहरे सुरुङको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आश्विन ९, २०७८ शनिवार २०:३६:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सी जिनपिङ
  • अर्कोसमाचार

    बेलायतमा छुरा प्रहार गरि एक सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा

  • 336
    SHARES
  • बेलायतमा छुरा प्रहार गरि एक सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा

    लन्डन - बेलायतमा एक सांसदमाथि छुरा प्रहार गरि हत्या भएपछि अन्य सांसदहरुको सुरक्षा व्यबस्था कडा पारिएको छ ।  कन्जरभेटिभका सांसद डेभिड अमेसलाई पूर्वी लन्डनको लेग अन सी सहरको एउटा चर्चमा शुक्रबार एक व्यक्तिले छुरा प्रहार गरेका थिए । मतदातासँग छलफल गरिरहेका बेला ६९ वर्षीय डेभिडको हत्या भएको थियो ।

    images

    सो आक्रमणपछि अन्य सांसदहरुमा त्रास बढेको छ । उनीहरुलाई सरकारले थप सुरक्षाकर्मीको व्यबस्था गरेको छ । पाँच वर्षअघि पनि लेबरका सांसद जो कोक्समाथि यस्तै हमला भएको थियो ।

    शुक्रबारको हमलामा अतिवादी मुस्लिम समूहको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणको आशंकामा प्रहरीले एक संदिग्ध व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरेको छ । स्कटल्यान्ड यार्ड्स काउन्टर टेरोरिजम कमान्डले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    गृहमन्त्री प्रिति पट्टेलले सांसदहरुलाई प्रदान गरिएको सुरक्षा व्यबस्था समिक्षा गर्न प्रहरीलाई निर्देशन दिएकी छिन् ।   सांसद र उच्च अधिकारीहरुले आफ्नो सुरक्षाप्रति चासो देखाएको उनले बताइन् । एजेन्सी


    आश्विन ३१, २०७८ आइतवार २०:३७:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेलायत

  • क्यानाडा नेपाल

    सुतिरहेको अवस्थामा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

  • 252
    SHARES
  • सुतिरहेको अवस्थामा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

    इस्लामाबाद – पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ ।

    images

    पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात व्यक्तिको मृत्यु भएको हो ।

    सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए । सिन्ह्वा 
     


    आश्विन ३१, २०७८ आइतवार २०:४४:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आगलागी

  • क्यानाडा नेपाल

    महामारीबीच दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

  • 162
    SHARES
  • महामारीबीच दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

    दुबई - दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद  रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा  दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो ।

    images

    सन् २०२० को सुरूदेखि नै महामारीको चपेटामा परेको दुबई सार्वजनिक स्वास्थ्य समस्या देखिएको थियो । यद्यपी रोग नियन्त्रण गर्न देशले उल्लेख्य भूमिका खेलेको थियो ।

    अर्बपतिहरुको गतिविधि अनुसन्धान गर्ने संस्था न्यु वल्र्ड हेल्थ (एनडब्लुएच) ले दुबईमा हाइ–नेट–वेल्थ इन्डिभिजुअल (एचएनडब्लुआई) को संख्या यो जुन महिनामा ३ दशमलब ८ प्रतिशतले बढेको जनाएको छ । दुबईमा गत डिसेम्वरमा ५२ हजार एचएनडब्लुआईमा रहेकोमा अहिले ५४ हजार पुगेको हो । एचएनडब्लुआई अर्थतन्त्रको एउटा शब्द हो जसको अर्थ अमेरिकी डलर १० लाख भन्दा बढी सम्पत्ती भएका धनाढ्य भन्ने बुझाउँछ ।

    मध्येपूर्व र अफ्रिका (एमइए) क्षेत्रमा दुबई संसारकै धनी सहर हो । दुबई १६५ ‘सेन्टी–मिलिअनरिज’ र १२ ‘विलिअनरिज’को घरसमेत हो । कम्तिमा एक मिलियन डलर रकम, सम्पत्ती र व्यवसाय भएका व्यक्तिको संख्या जुनमा २ दशमलब ५ प्रतिशतले बढेको एनडब्लुएचको अध्ययनमा उल्लेख छ ।

    अर्को एक छुट्टै अध्ययनमा मध्यपूर्वमा आगामी पाँच वर्षमा ३० मिलियन (३ करोड) डलर सम्पत्ती भएका व्यक्तिहरुको संख्या २४ दशमल ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।एजेन्सी


    कार्तिक १, २०७८ सोमवार ०७:४९:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धनाढ्य

  • क्यानाडा नेपाल

    वेनेजिर भुट्टो स्वदेश फिर्तादेखि रूसबाट खरिदपछि अमेरिकाको अधिनमा अलास्का

  • 106
    SHARES
  • वेनेजिर भुट्टो स्वदेश फिर्तादेखि रूसबाट खरिदपछि अमेरिकाको अधिनमा अलास्का

    आज १८ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

    images

    वेनेजिर भुट्टो स्वदेश फिर्ता
    आठ वर्षको लन्डन र दुबई निर्वासनपछि  सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किएकी थिइन् । स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनाबी ह्यालीमा भुट्टोको हत्या भएको थियो । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन् ।

    पाइपलाई बिस्फोटमा २०० को मृत्यु
    नाइजेरियाको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको एउटा पाईपलाईनमा ठूलो बिस्फोट भएको थियो । लागोस्थित पाईपलाईनमा भएको सो बिस्फोटमा २०० जनाको मृत्यु भएको थियो । बिस्फोटपछि लागेको आगो निभाउन ६ दिन लागेको थियो । 

     रूसबाट अमेरिकाले किन्यो अलास्का
     अमेरिकाको हाल स्वामित्वमा रहेको अलस्का कुनै बेला रसियाली भूमि थियो । सन् १८६७ मा अलस्का अमेरिकाको महत्वपूर्ण क्षेत्र बनेको थियो । आजकै दिन अमेरिकाले रसियाबाट ७२ लाख डलरमा अलस्काको एउटा ठूलो क्षेत्र किनेको थियो । तर, अलस्का किन्ने सरकारको निर्णयबाट भने आमअमेरिकी खासै खुसी थिएनन् । सन् १९५९ देखि अलस्का अमेरिकाको छुट्टै राज्य बनेको थियो । 

    प्युरटो रिको अमेरिकाको अधिनमा
    स्पेन र अमेरिकाबीचको युद्धपछि स्पेनको अधिनमा रहेको प्युरटो रिको अमेरिकाले कब्जा गरेको थियो । सन् १८९८ देखि प्युरटो रिको अमेरिकाको महत्वपूर्ण ‘टेरिटोरी’ बनेको छ  ।एजेन्सी


    कार्तिक १, २०७८ सोमवार ०७:५७:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वेनेजिर भुट्टो

  • क्यानाडा नेपाल

    भारतमा एकैदिन १४ हजार कोरोना संक्रमित थपिए, १ सय ६५ जनाले ज्यान गुमाए

  • 102
    SHARES
  • भारतमा एकैदिन १४ हजार कोरोना संक्रमित थपिए, १ सय ६५ जनाले ज्यान गुमाए

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । 
     
    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ६५ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५२ हजार ३ सय २१ पुगेको छ ।  
     
    पछिल्लो २४ घण्टामा १४ हजार २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४० लाख ६६ हजार ७ सय ६० पुगेको छ ।  यस्तै भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ३४ लाख ३१ हजार ७ सय १६ पुगेको छ । 
     

    images


    कार्तिक १, २०७८ सोमवार ०८:२५:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    केरलामा बाढीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो

  • 86
    SHARES
  • केरलामा बाढीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो

    दक्षिणी भारतीय राज्य केरलामा ठूलो वर्षाले निम्त्याएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ। बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्।

    images

    मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। बाढीले धेरै घर बगाएको छ। कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फस्न पुगेका विवरणमा जनाइएको छ।

    भीषण वर्षा
    सोही क्षेत्रबाट प्राप्त भिडिओमा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गर्दै गरिएको दृश्य देखिन्छ। केही दिनयता भएको ठूलो वर्षाले केरलामा घातक पहिरोहरू निम्त्याएको छ।अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन्।

    पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको छ। बाढीका कारण फसेका कोलम र अन्य तटीय नगरका मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको छ।

    कैयौँ ठाउँमा बाढीले सडक बगाएको छ र रूखका जराहरू उखेलिदिएको छ। बाढीपीडित एक महिलाले भनिन्, "धेरै क्षति भएको छ, घरहरू बगेका छन्। बालबालिकालाई गुमाएका छौँ।"

    केरलामा ठूलो वर्षाले बाढी तथा पहिरो निम्याइरहन्छ। कुनै बेला बाढीविरुद्ध प्राकृतिक रक्षाकवचको रूपमा काम गर्ने गरेका सिमसार क्षेत्र तथा तालहरू बढ्दो शहरीकरण एवं संरचना निर्माणसँगै अहिले मासिएका छन्।

    सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका थिए।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    कार्तिक १, २०७८ सोमवार ०८:३१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केरला

  • क्यानाडा नेपाल