बुधबार
२५ मङ्सिर
२०७६

वाह ! प्रधानमन्त्री तिम्रो आत्मविश्वास र मनोबल

बिहीबार मङ्सिर १२, २०७६/ Thursday 11-28-19

काठमाडौं । म धेरै अस्पताल बसेको छु । धेरै बिरामीको अवस्थालाई नजिकबाट नियालेको छु र म नै कयौँपटक सानातिना स्वास्थ्य समस्याले अस्पताल बसेको छु । रुघाखोकीको समस्याले मजस्ता धेरै नेपालीलाई सताइरहेको हुन्छ । म युवा छु, मेरो शारीरिक अङ्गप्रत्यङ्ग सोही किसिमले चल्छ । तर, रुघाखोकीले सताएपछि वा सामान्य ज्वरो आएको एक दुई दिन उठेर हिँड्न सकस हुन्छ । शरीर गलेर आउँछ । आत्मा थाकेर आउँछ । जाँगर मरेर आउँछ ।

तर, प्रधानमन्त्रीज्यू तपाइँको साहस, आत्मविश्वास र मनोबल देखेर म अचम्मित भएको छु । वृद्ध अवस्था, विभिन्न रोगले गालेको शरीर, तर स्फूर्त कल्पना गर्न नसकिने । त्यसमाथि देशको चिन्ता गर्दै जुरुक्क अस्पतालको शैय्याबाट उठेर समाचार हेर्ने तिम्रो राष्ट्रप्रतिको चिन्ता साँच्चै सलाम योग्य छ । 

म कुनै राजीतिक दलको कार्यकर्ता होइन। मैले नजिकबाट तिमीलाई चिनेको छैन । तर, मनैबाट भने बिहीबार आएको समाचारले तिमीलाई चिनायो । चार दशकदेखि विभिन्न रोगले सताएको शरीरमा १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गाैलाले पनि काम गर्न छाडेका बेला गरिएको एपेन्डिसाइटिसको शल्यक्रियाको ४८ घण्टा नपुग्दै शरीरमा स्फूर्त आउनु साच्चैँ उच्च आत्मबल हो । औषधिले मात्रै होइन आत्मबल र आत्मविश्वास पनि आवश्यक पर्छ रोग निको पार्न । यही आत्मबलकै कारण हरेक डायलासिसपछि मन्त्री र सचिवलाई निर्देशन दिनेदेखि सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेसम्म तागत प्रधानमन्त्रीमा आएको । 

‘बिहीबार बिहानै सामाजिक सञ्जालमा सक्रिय रहँदै चिकित्सक र सचिवालय सदस्यलाई मेरो उपचार गर्नु, तर मलाई अवरोध सृजना नगर्नु, मेरो एक मिनेट पनि राष्ट्रका लागि महत्वपूर्ण छ’ भन्यौ भन्ने समाचारमा पढेँ । यदी यो सत्य हो भने तिमी साँच्चैँ राष्ट्रवादी नेता हौ । अस्पतालको शैय्याबाट देशको चिन्ता लिने र आफूलाई राष्ट्रको लागि विरामी अवस्थामै काम गर्न दिन चिकित्सक र सचिवालय सदस्यलाई भन्नु कुनै व्यक्तिगत स्वार्थ देखिँदैन । 

राष्ट्रको सीमा मिचिँदा तिमीले अस्पतालको शैय्यामा समय बिताउनु साच्चैं मुलुकको लागि अहित छ । तर, यसो भन्दै निको नहुँदै उठेर हिँड्नु झनै हानिकारक छ । चाँडै निको भएर फर्क नेपालको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि सबै नेपालीको तर्फबाट शुभकामना ।