बुधबार
२५ मङ्सिर
२०७६

उडेको केही समयमै बिमान दुर्घटना, २ बालबालिकासहित ९ जनाको ज्यानगयो

आइतबार मङ्सिर १५, २०७६/ Sunday 12-01-19

वासिङ्टन, एएफपी  – संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्युभएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् । मृत्युहुनेहरुमा दुई बालबालिका समेत रहेका छन् ।

एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ । मृत्यु हुनेहरुमा बिमानका पाइलट पनि रहेका छन् । बिमानमा कूल १२ जना सवार थिए । उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको थियो ।

अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ । साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका उडानहरु प्रभावित भएका छन् ।