बुधबार
२५ मङ्सिर
२०७६

भाइरल अघोरी बाबा र रवीन्द्र मिश्रको नियति

आइतबार मङ्सिर १५, २०७६/ Sunday 12-01-19

काठमाडौं । सांगीतिक क्षेत्रमा रुची भएका विजय केसी गार्हस्थ जीवन त्यागेर जोगी बनेको धेरैलाई थाहा थिएन । जब उनी अघोरी बाबाको नामले सामाजिक सञ्जालमा भाइरल भए, तब उनी गायन क्षेत्रमा संघर्षरत व्यक्तिको रुपमा धेरैले चिने । उनको अन्तर्वार्ता युट्युबको नेपाल ट्रेन्डिङमा पर्न थाल्यो । विज्ञापनदेखि म्युजिक भिडियोसम्म अभिनय गरेका उनको स्वरमा गीत पनि सार्वजनिक भयो । मुलुकका विभिन्न स्थानमा भएका कन्सर्टमा उनको माग बढ्यो । उनी कन्सर्टमा सहभागी भएर गीत गाउन थाले । विजयी केसी भाइरल अघोरी बाबाको नामले सामाजिक सञ्जालमा भइरल बनेपछि जोगीबाट भोगीमा परीणत हुन थाले ।

भाइरल भएसँगै केही आर्थिक लाभ गरेका केसी विवाह गर्ने निधोमा पुगे । यसपछि उनले शारदा पाण्डेसँग विवाह गरे । उनको विवाहले पनि सामाजिक सञ्जाल रंग्यायो । उनको विवाह सम्बन्धीका युट्युबमा अपलोड भएका भिडियो नेपाल ट्रेन्डिङमा प¥यो । अघोरी बाबाको ‘लाइफ ड्यामेज’ थेगो चर्चित भयो । 

एकपछि अर्काे उनका गतिविधिले सामाजिक सञ्जालमा चर्चा पाइरहेका बेला गत कात्तिक २५ गते ठगी गरेको उजुरीको आधारमा शारदा र विजयलाई बौद्ध प्रहरीले नियन्त्रणमा लियो । यसपछि उनीहरुको भाइरल यात्रा ओरालो लाग्यो । आजसम्ममा आइपुग्दा भाइरल अघोरी बाबा र शारदा गुमनाम जस्तै भएका छन् । 

अघोरी बाबा भाइरल बनिरहँदा मुलुकमा चुनावको रौनक छाउन थालेको थियो । उपनिर्वाचनको तयारीमा दलहरु जुटेका थिए । उम्मेद्वारी दिरहेका थिए । यसैक्रममा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले पनि कास्की २, भक्तपुर १ (क)सहितका क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको थियो । कास्की २ मा रजनी केसी र भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेदवार बनाएको साझाले अन्य स्थानमा पनि उम्मेदवारी दिएको थियो । 

साझाले आफ्नो उम्मेदवारको पक्षमा मत माग्न जति घरदैलो कार्यक्रम राखेको थियो, त्यो भन्दाबढी सामाजिक सञ्जाललाई प्रयोग गरिएको थियो । सामाजिक सञ्जालमा एकछत्र राज गरेको साझाले आफ्नो उम्मेदवारलाई भाइरल जस्तै बनाएको थियो । चुनावी प्रचारका क्रममा रजनी केसी र सुरज प्रधान साझा र रवीन्द्रको पेजबाट भाइरल बनिरहेका थिए । कास्की पुगेका रवीन्द्रले एकपछि अर्काे रजनीसहित चुनावी कार्यक्रमका तस्विर पोष्ट गरिरहेका थिए । साझाले गरेको चुनावी प्रचारशैलीले रवीन्द्रसहित उम्मेदवारलाई भाइलजत्तिकै बनाएको थियो । 

तर, मंसिर १४ गते शनिबार भएको निर्वाचनको आइतबार दिउँसोसम्मको मत परीणामले रवीन्द्र साझालाई गुमनाम जत्तिकै बनाएको छ । आइतबार दिउँसो कास्की २ बाट रजनीलाई एक सय मत पनि आएको छैन भने भक्तपुरमा सुरजको पनि उस्तै हालत रहेको छ । 

सामाजिक सञ्जालमा भाइरल जस्तै साझाका उम्मेदवार मतपरीणाम आएसँगै गुमनाम देखिए । सामाजिक सञ्जालमा चर्चित जस्ता देखिएका साझालाई मतदाताले त्यत्ति पत्ताएको देखिएन । सामाजिक सञ्जालमा एकाएक भाइरल बनेका अघोरी बाबा र चुनावी प्रचारमा भाइरल जस्तै भएका रवीन्द्रको साझाका उम्मेदवार क्षण भएरमै गुमनाम हुँदै गए ।