बुधबार
२५ मङ्सिर
२०७६

सिद्धबाबाको सम्पूर्ण इतिहास खोजी गर्न सुरक्षा संयन्त्रलाई प्रधानमन्त्री ओलीको निर्देशन

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं । जबर्जस्तीकरणीको आरोपमा प्रहरी हिरासतमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीबारे प्रधानमन्त्री केपी ओलीले निकै चासो राखेको बताइएको छ । धर्मको नाममा राजनीतिक दलका ठूलाबडा नेतालाई प्रभावमा पारेर आफ्नो स्वार्थसिद्धिमा लागेको पाइएपछि सिद्धबाबाप्रति प्रधानमन्त्रीले चासो राखेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले घटनालाई गम्भीर रूपमा लिँदै सिद्धबाबाको विगत र वर्तमान अवस्थाबारे खोजी गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् । हाल अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीले त्यहीँबाट कडा निर्देशन दिएपछि प्रहरीले उपचारको बहानामा विराट नर्सिङहोममा भर्ना भएका उनलाई सोमबार बिहान पक्राउ गरेको थियो ।

ओलीको निर्देशनअनुसार प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सिद्धबाबाको सम्पूर्ण खोजी गर्न सक्रिय भएका छन । हिन्दु धर्मको बहाना बनाएर सद्भाव भड्काउन खोज्ने चलखेल हुनसक्ने भएकाले सिद्धबाबाका समर्थक, विरोधी र चतराधामस्थित मठ सञ्चालनबारे सुरक्षा संयन्त्रले विशेष चासो दिएको छ ।

यसैबीच, जबर्जस्तीकरणीको आरोप लागेका सिद्धबाबालाई सोमबार प्रहरीले जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको छ । अस्पतालको आइसीयू भर्ना भएका सिद्धबाबालाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले विराटनगरको विराट नर्सिङहोमबाट पक्राउ गरेको थियो । उनलाई एम्बुलेन्समा जिल्ला अदालत लगेर चार दिनको म्याद थप गरिएको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् । आइसीयूमा उपचारार्थ रहेकाले म्याद थपपछि उनलाई पुनः अस्पताल लगिएको छ ।  

कास्कीतिरकी एक महिलाले सिद्धबाबाविरुद्ध जबर्जस्तकरणी गरेको किटानी जाहेरी दिएकी थिइन् । घटना सार्वजनिक नगरिदिन अनुरोध गरेको फोनको अडियो रेकर्ड महिलाले सार्वजनिक गरेपछि उनी थप बिरामी परेको भन्दै आइसीयूमा भर्ना भएका हुन् ।

यसअघि महिलालाई जबर्जस्तीकरणी गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा गर्न लगाएर प्रधानमन्त्री ओलीले खराब आचरण भएका सबैलाई कारबाही गर्ने संकेत गरिसकेका छन् । यही सेरोफेरोमा सिद्धबाबाको घटना बाहिर आएको हो । उनले सुनसरीको चतरास्थित ६३ बिघा जग्गा अतिक्रमण गरेको आरोप लाग्दै आएको छ ।