बुधबार
२५ मङ्सिर
२०७६

उपनिर्वाचनको परिणामलाई लिएर प्रधानमन्त्रीका सल्लाहकार र नेकपा नेताबीच जुहारी

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं । उपनिर्वाचनको मतपरिणामलाई लिएर सत्तारुढ नेकपाका दुई केन्द्रीय नेताबीच जुहारी चलेको छ । नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र विदेश विभाग उपप्रमुख विष्णु रिजालले उपनिर्वाचनको परिणामलाई लिएर दुई फरक फरक धारणा सार्वजनिक गरेका हुन् ।  

सोमबार दिउँसो १ः५५ बजे सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री प्रेस सल्लाहकार थापाले वर्तमान सरकार र सत्तारुढ नेकपामाथि भएका अनुचित आलोचनालाई जनताले अस्वीकार गरेको तर्क गरेका छन् ।
यही मंसिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका ५२ पदका लागि भएको निर्वाचनमा ३१ पदमा नेकपालाई विजयी गराएर जनताले सरकार र नेकपामाथि भएको अनुचित आलोचनालाई अस्वीकार गरेको थापाको ट्वीटमा उल्लेख छ । 

ट्वीटमा उनले उल्लेख गरेका छन्, ‘स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१(५९.८५) स्थानमा विजय हासिल गरेको छ । एकताअघि दुई पार्टीले २८ स्थान(५३.८५) जितेका थिए । अहिले ३ सीट (५.८५) बढी हासिल भयो । यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अश्वीकार गरेको स्पष्ट भएको छ ।’

प्रधानमन्त्रीका सल्लाहकार तथा उपप्रचार विभाग प्रमुख थापाले ट्वीट गरेर नेकपाको सरकारलाई जनताले साथ दिएको बताएको ३६ मिनेटपछि दिउँसो २ः३१ बजे ट्वीटमार्फत नेकपाका विदेश विभाग उपप्रमुख रिजालले नेकपाका लागि उपनिर्वाचन सुखद नरहेको जवाफ दिए । 

दाङ र कास्कीमा भावना र सहानुभूतिले काम गरेको तथा भक्तपुर र धरान फुत्किएको भन्दै उनले एकताको संक्रमण, विभिन्न तहका सरकारहरुको काम र उम्मेदवार चयन जस्ता कारणले नेकपाले सुखद परिणाम ल्याउन नसकेको बताए । परिणाममुखी काम गरेर मात्रै क्षतिपूर्ति हुने भन्दै रिजालले काइते तर्कले नहुने बताएका छन् । 

सामाजिक सञ्जाल  ट्वीटरमा रिजालले लेखेका छन्, ‘नेकपाका लागि उपनिर्वाचन सुखद् रहेन । दाड. र कास्कीमा भावना र सहानुभूतिले पनि काम गरेको छ, भक्तपुर र धरान फुत्किएका छन् । एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेद्वार चयन जस्ता कारण छन् । समय छ, परिणाममुखी काम गरेर मात्रै क्षतिपूर्ति हुन्छ, काइते तर्कले होइन ।’