शुक्रबार
२० मङ्सिर
२०७६

अझै मीना आतंकबाट गुज्रिएर पनि संसार हँसाइरहने मनोज तिमी महान छौ

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

नेपालमा पुरुषबाट महिला पीडित भएको बहस हुन थालेको धेरै वर्ष भयो । महिलाको हक र हितको विषयमा बहस हुनु राम्रो हो र आवश्यक पनि छ । अझै पुरुषबाट महिला पीडित हुने क्रम रोकिएको छैन, यो रोक्नु पर्छ । उच्च घरानामा यो अझै टड्कारो समस्या बनिरहेको छ । महिला हक हितको विषयमा बहस भइरहँदा महिलाबाट पुरुष पीडित हुन थालेका खबर आउन थालेका छन् ।

पुरुष समाजमा आएर महिलाबाट पाएको पीडा बताउन चाहँदैनन् । जस कारण धेरै पुरुष घरभित्रै महिलाको पीडा सहेर बसेका छन् । पछिल्लो वर्षमा विचार मिल्न नसकेपछि दम्पत्तिहरु डिभोर्स गर्न थालेका छन् । यो संख्या दिनानुदिन बढिरहेको छ । डिभोर्सपछि पनि महिलाबाट पुरुष र पुरुषबाट महिला पीडित हुनु भनेको दुःखको कुरा हो । यो अवस्था भोगिरहेका छन्, चर्चित हाँस्यकलाकार मनोज गजुरेलले । दुई वर्ष अघि मनोज गजुरेल र मीना ढकालले आफ्नो २२ वर्षे वैवाहिक सम्बन्धलाई अन्त्य गर्दै डिभोर्स गरे । मनोजबाट अंश लिएर मीनाले डिभोर्स गरेकी हुन् ।

तर, आजपर्यन्त मीनाले मनोजमाथि विभिन्न आरोप लगाउन छोडेकी छैनन् । हिजोआजै उनीमाथि मनोजबाट अन्याय भएको हो भने मनोजलाई कारबाहीको भागीदार बनाउन राज्य लाग्नु पर्छ । तर, विगतका कुरा गरेर मीनाले मनोजको मानमर्दन हुने कुरा गर्नु उचित होइन । मनोजसँग विचार वा व्यवहार नमिलेर या मनोजले पीडा दिएर वा जुनसुकै कारणले होस् मीनाले मनोजसँग अंश लिएर अलग बाटो लिइसकेकी छन् ।

मनोजले उनीमाथि अपराध गरेका थिए भने किन कारबाही गर्न त्यत्तिखेर मीना लागिनन् ? अब अलग अलग बाटो लिएर जिन्दगीलाई अगाडि बढाउने भन्दै दुई वर्ष अघि डिभोर्स गरेकी मीनाले सोमबार (मंसिर १६) फेसबुकमा स्टाटस लेखेर मनोजमाथि मताधिकार हनन गरेको आरोप लगाएकी छन् । डिभोर्स लगत्तै मनोजलाई महिला पीडकको रुपमा हेरेको थिएँ । तर, डिभोर्सपछि युट्युब र सामाजिक सञ्जालमार्फत मीनाले मनोजमाथि लगाएका कतिपय आरोप निराधार मात्रै लागेन, मनोजको सहनशीलता पनि उत्तिकै देखेँ ।

दम्पत्तिबीचका कतिपय गोप्य कुरा डिभोर्सपछि बाहिर ल्याउनु र कतिपय काल्पनिक जस्ता लाग्ने केही आरोपहरु मनोजमाथि मीनाले लगाइरहनु साँच्चै अस्वभाविक मात्रै थिएन मनोजमाथि अन्याय नै भएको महसुस गरेको थिएँ । अहिले दुई वर्षपछि पनि मनोजमाथि आरोप लगाइरहने मीनाको व्यवहार उदेक लाग्दो छ । यदी म गलत हुन्न भने, मनोजमाथि मीना आतंक भइरहेको छ ।

मीनाले सार्वजनिक रुपमा मनोजमाथि कयौँ आरोप लगाइरहँदा मनोज भने देश विदेशमा आफ्ना दर्शकलाई हँसाइरहेका थिए, हँसाइरहेका छन् । डिभोर्स गरेर गएकी महिलाबाट निरन्तर पीडित भइरहँदा सबै सहेर सहनशीलता देखाउने मनोज तिमी महान (मेरो नजरमा) छौ, अझै आफ्ना दर्शकलाई सामाजिक विभेद, अत्याचारलगायतका विषयमा व्यंग्यात्मक प्रस्तुती दिएर हँसाइरहू, मेरो शुभकामना ।