आइतबार
११ फाल्गुण
२०७६

सभामुखको उम्मेदवारी दर्ता आज, कांग्रेसले कसलाई बनाउँछ उम्मेदवार ?

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं । नयाँ सभामुखको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । माघ १२ गते सभामुखको निर्वाचन हुँदैछ । सत्तारुढ नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा विवादास्पद व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको भन्दै आफूले पनि उम्मेदवारी दिने जनाएको छ । त्यसका लागि अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । एकजना प्रस्तावक र समर्थक राखी प्रतिनिधिसभाका कुनै पनि सांसदले प्रस्ताव गर्नसक्ने व्यवस्था रहेको छ । उम्मेदवारको सूची आज दिउँसो २ः३० बजे नै सार्वजनिक गरिनेछ । रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो ।

संसदमा नेकपाको सुविधाजनक बहुमत रहेकाले सापकोटा नै सभामुख हुने लगभग निश्चित छ । अरु दलले उम्मेद्वारी नदिएमा उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको अर्को बैठक १२ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकले नै सभामुख चयन गर्नेछ ।

यसअघि प्रतिधिनिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुख चयनको लागि माघ १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको थियो । उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि बैठकको अध्यक्षता जेष्ठ सदस्य ठाकुरले गरेका थिए ।