सोमबार
२७ असोज
२०७६

सरकारले 'प्रधानमन्त्री रोजगार कार्यक्रम' विश्व बैंकबाट ऋण लिएर चलाउने

मंगलबार असोज ७, २०७६/ Tuesday 09-24-19

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ विश्व बैंकबाट ऋण लिएर गर्ने भएको छ । अनुत्पादक काममा जथाभावी रकम छरेको भन्दै सरकारको आलोचना भएको सो कार्यक्रमका लागि १३ अर्ब ६५ करोड रुपैयाँ ऋण लिन लागेको हो । विकास निर्माणका काममा मात्र ऋण लिने नीतिविपरीत सरकारले विश्व बैंकबाट सो रकम ऋण लिन लागेको हो । 

श्रम मन्त्रालयले सञ्चालन गर्ने सो कार्यक्रमका लागि सरकारले गत आर्थिक वर्ष तीन अर्ब १० करोड रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये २ अर्ब ३७ करोड रुपैयाँ आर्थिक वर्षको अन्त्यतिर जेठमा पठाउँदा सामान्य काममा मात्रै खर्च भएको थियो । त्यस कार्यक्रमअन्तर्गत देशभर १ लाख ८८ हजार ३ सय ४६ जनाले औसतमा १३ दिनको रोजगारी पाएको सरकारले बताएको छ । 

यही कार्यक्रमका लागि १३ अर्ब ६५ करोड रुपैयाँ ऋण लिने विषयमा नेपाल सरकार र विश्व बैंकका अधिकारीबीच वार्ता भइसकेको छ । श्रम, अर्थ र कानून मन्त्रालयका अधिकारी सम्मिलित टोलीसँगको वार्तापछि बैंकले ऋण स्वीकृत गरिसकेको छ । यद्यपी नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालय र विश्व बैंकबीच सम्झौता हुन भने बाँकी छ । सरकारले नै गठन गरेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले ऋणको आकार नै १० खर्ब रुपैयाँ नाघिसकेकाले वितरणमुखी कार्यक्रमका लागि ऋण नलिन सुझाव दिएका बेला उक्त ऋण लिन लागिएको हो ।