सोमबार
२७ असोज
२०७६

म र मेरो सरकार, हामी दुवैलाई ग्यास्ट्रिक रै'छ

बुधबार असोज ८, २०७६/ Wednesday 09-25-19

ग्यास्ट्रिक, सुन्दा सामान्य सुनिन्छ, तर यसको प्रत्यक्ष असर दैनिक जीवनमा नराम्रोसँग देखापर्छ। हुनत ग्यास्ट्रिक सामान्य रोग हो, कहिले काहीं बिरामी हुँदा वा ए के भयो  भनेर प्रश्न गर्दा, जवाफमा ग्यास्ट्रिक उत्तर पाइन्छ , यसलाई खासै गम्भीरतापूर्वक लिने गरिँदैन। उल्टो अलि स्वस्थ खानेकुरा खानुपर्यो भनेर सुझाव दिने गरिन्छ।  सोच्दा,  हुन पनि सामान्य रोगलाई हामी आफैँले जटिल बनाइरहेका हुन्छौँ। समय छँदा ध्यान नदिएर अन्तिम अवस्थामा आएर समाधान खोज्न थाल्छौं। अहिले त झन् यो रोगले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई च्याप्न थालेको छ।  हरेक नेपालीको राष्ट्रिय रोग के हो भनेर प्रश्न गर्दा सम्भावित उत्तर ग्यास्ट्रिक नै आउँछ ।  मलाई पनि ग्यास्ट्रिकले च्यापेको आज ठ्याक्कै चार वर्ष पुगेको छ।

मलाई ग्यास्ट्रिक हुनु र संविधान सभाबाट संविधान जारी हुनु एउटै साल थियो। चार वर्ष अघि जसरी धुमधामका साथ संविधान जारी गरिएको थियो, त्यसरी नै मेरो शरीरमा ग्यास्ट्रिकले धुमधामकासाथ जरो गाडिसकेको रहेछ। पढाईको शिलशिलामा सधैँ घरबाट बाहिर रहनु परेकाले कहिल्यै समयमा खाना खान समय मिलेन । होटलको पिरो चिल्लो तरकारी र भात खाएर स्नातक सकियो। यसैसाल संविधान पनि आएको थियो, जनतामा उत्साह थियो, वर्षाैँकाे रस्साकसीपछि बनेकाे  संविधान कस्तो होला भनेर सबै जनतामा विशेष चासो थियो। 

संविधान जारी भयो, नेपाली जनताले लोकतान्त्रिक गणतन्त्र भनेर खुब नारा पनि लगाए, त्यो ठुलो आवाज भित्र मेरो पनि आवाज समाहित थियो। देशको राज्यप्रणालीले अब प्रगतिशील परिवर्तन पाउला भनेर म लगायत सम्पूर्ण नेपाली जनता खुशी थिए। भूकम्पको चाप खेपिरहेको नेपाली जनताले भारतको नाकाबन्दीसमेतलाई सामना गर्नुपरेको थियो। संविधान जारीपछि भारतीय नाकाबन्दीका  बेला सुशील काेइरालाकाे सरकारलाई विस्थापित गरेर केपी शर्मा ओलीकाे सरकार नेपाली जनता माझ आशाको दियो बनेर आयो।  ओली सरकारकाे अडानसहित  नेपाली जनताले निडर भै नाकाबन्दीको सामना गरिरहेका बेला मेरो ग्यास्ट्रिकले पनि अलि राहत पाइरहेको अवस्था थियो। 

स्नातक सकेर घरको खान पाएको र नेपालमा नयाँ संविधान आएको कुराले त मानाै‌  मेरो रोग निर्मुल हुने भैसकेको थियो। छोटो समय सरकारमा रहे पनि ओलीको लहर नेपालभर घन्किन थाल्यो, देशको आश नै अब खड्गप्रसाद ओलीमा केन्द्रित थियो। तर, राजनीतिमा असम्भव हुँदै भने जस्तै केही वर्षमै नेपाली राजनीतिले एक्कासी यस्तो परिवर्तन लियो, त्यो सायद कसैले कल्पना पनि गर्न सकेको थिएन। दुई विपरीत ध्रुवका पार्टी राजनीतिक उदेश्य र जनताको भलाइकाे निम्ति भन्दै एकआपसमा साझेदारी गरे। सरसर्ती हेर्दा लाग्यो भारतको कुनै साउथ फिल्म जस्तो, जहाँ एकैछिनमा कहानीको स्वरुप बदलिएको थाहा नै हुँदैन। स‌विधान जारीपछि मुलुकमा हुन लागेकाे संसदीय निर्वाचनताका दुई पार्टीले  एकआपसमा साँठगाँठ गरेर बहुमत हासिल गरे, यससँगै उनीहरुले आफूलाई ग्यास्ट्रिक भएको लक्षण पनि देखाउन थाले। तत्कालीन एमाले र तत्कालीन माओवादी एक भएर नेकपा गठन गरे, स्थानीयदेखि केन्द्रमासम्म बहुमत ल्याए, अझ केन्दीय सरकारले त दुई तिहाइ समर्थन पायाे । 

तर, ग्यास्ट्रिकले कहिलेकाहीँ छाती च्वास्स घोचे जस्तो दुई तिहाइ समर्थन पाएकाे ओली सरकारलाई पनि अहिले विभिन्न काण्डले घोचिरहेको छ। निर्मल पन्त काण्डले अहिले सरकारको पेट घोचेर आकाशमा कालो बादलबाहेक अरु केहि देखेको छैन र त्यसलाई निको पार्न भनेर दुनियाँथरिको वाइनलाई औषधिको रुपमा सेवन गरिरहेको छ।  ग्यास्ट्रिककै कारणले होला सरकारको मानसिक सन्तुलन बेला बेला बिग्रिने गरेको छ, जसको परिणाम ल्याइएका विभिन्न विधेयक मात्रै हाेइन प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका अभिव्यक्ति र व्यवहार विवादमा पर्ने गरेकाे छ । सरकारले सामाजिक सद्वाव विगार्न साथै आफ्नै चौथो अंगलाई पिरोल्न खोज्छ। यी यस्ता गतिविधिलाई हेर्दा सरकारलाई साचै नै ठुलो चिकित्सकको आवश्यक भएको महसुस गर्न सकिन्छ।

मैले त चिकित्सकको सरसल्लाहमा आफ्नो स्वस्थको राम्रो ख्याल राख्न अहिलेसम्म सफल भैरहेको छु, तर सरकारले कुनैपनि सरसल्लाहको अनुशरण गरेको जस्तो लाग्दैन। मानिसमा ग्यास्ट्रिक बिग्रे अन्तिम अवस्थामा क्यान्सर भै दुई चारजनालाई दु:ख दिई यस संसारलाई छोडेर जाँन्छ, तर सरकारलाई नै क्यान्सर भयो भने राष्ट्रको अवस्था कस्तो होला ? लामो संघर्षबाट प्राप्त भएको यस लोकतान्त्रिक गणतन्त्रको कस्तो दुर्गति होला भनेर कल्पनासमेत गर्न सकिँदैन।  मेरो सरकार, मैले त आवश्यक सावधानी अपनाइसकेँ, भरसक मलाई अब त्यति ठूलाे रोग नलाग्ला, तर सरकारले बेलैमा सावधानी अपनाएन भएन भने यहाँ करोडौं जनताले बिना रोग नै पीडा र सास्ती व्यहाेर्नुपर्ने पक्का छ ।