मंगलबार
६ फाल्गुण
२०७६

तिम्रो आगमनले संसार हल्लायो, बिन्ती छ जाऊ

शनिबार माघ १८, २०७६/ Saturday 02-01-20

काठमाडौं । तिम्रो आगमनको प्रतिक्षा थिएन । तिम्रो उपस्थिति चाह हैन । तिम्रो अस्तित्व र प्रभावबारे सायदै कसैलाई थाहा थियो होला । तिम्रो अचानक आगमनले संसार हल्लाइरहेछ । मन दुखाइरहेछ । आतंक मच्चाउने गरी तिमी आउँदा म पनि डराइरहेको छु ।

तिमीलाई भगाउन निकै उपाय अपनाइँदैछ । तर, तिमी भने आफ्नो प्रभाव र अस्तित्वलाई विस्तार गरिरहेको छौ । तिमीले क्षणभरै संकट उत्पन्न गरिदियौ । चीनको सडकमै मानिसका शवहरु फेला पर्न थालेका छन्, जुन खबरले विश्व दुःखी भएको छ । चीनबाट उदाउँदै अहिले दुई दर्जन मुलुकमा पुगेको तिमी अब त्यहीँबाट अगाडि नबढ । जे जति ग¥यौ, त्यो नै पीडादायक छ । अब यहाँभन्दा बढी पीडा दिने कोशिश नगर । तिमीबाट संसार डराइरहेको छ ।

तिमीसँग जोगिन शरीरमा प्लास्टिक बेर्न थालेका छन्, मानिसहरु । विश्वभर दैनिक काम गरेर गुजरा चलाउनेको संख्या धेरै छ । उनीहरुलाई भोकै मार्ने प्रयास नगर । तिम्रो आगमन र प्रभावले मानिस सडकमा निस्कँन डराइरहेका छन्, जसले गर्दा दैनिक मजदुरी गरेर पेट पाल्ने झनै पीडामा छन् । तिमीबाट जोगिन दुई दिनमै अस्पताल बनाउन सफल चीनको सडकमा मानिसका शव फेला पर्न थालेको खबरले सिटामोल पाउन पनि मुस्किल मेरो देश नेपालका नागरिक झनै डराएका छन् ।

मेरो देशमा हुनेखानेभन्दा भएखाने धेरै छन्। जुन रफ्तारमा तिमी फैलिँदै छौ, त्यसलेभन्दा तिम्रो डरले काम बन्द गर्नुपरेमा भोकै मर्न बाध्य हुनेछन् नेपालीहरु । नेपालीमात्रै होइन विश्वभरका मानिस तिमीदेखि डराइरहेका छन् । मानिसलाई आतंक मच्चाएर तिमीलाई केही फाइदा छैन । बिना फाइदा तिमी किन आतंक मच्चाइरहेका छौ, यसर्थ अब मानव कल्याणका लागि तिमी जाऊ पृथ्वीबाट । सधैं राजनीतिक चपेटामा परेर भोकै र सिटामोलको अभावमा ज्यान गुमाउन परेको नेपालीको नियति छ । तिमी यहाँभन्दा बढी फिँजारिए धेरै नेपालीले ज्यान गुमाउनु पर्नेछ, यसर्थ बिन्ती छ, तिमी सदाका लागि जाऊ र कहिल्यै नफर्क पृथ्वीमा ।