मंगलबार
६ फाल्गुण
२०७६

कोरोना भाइरसका कारण भ्रमण वर्षमा असर हुन दिदैनौ : योगेश भट्टराई (भिडियो)

बिहीबार माघ २३, २०७६/ Thursday 02-06-20

काठमाडौ । नेपालमा भ्रमण वर्ष सुरु भएको एक महिना नपुग्दै विश्वभर फैलिंदै गरेको कोरोना भाइरसका कारण आउने पर्यटकको मात्रा घट्ने लक्षण देखिएको छ ।

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकहरुको मात्रा भने हवात्तै घटेको देखिएको छ । चिनबाट नेपालमा धेरै भन्दा धेरै पर्यटकहरु आउने गरेको हुँदा कोरोना भाइरसका कारण भ्रमण वर्षमा सोचे अनुरुप पर्यटक भित्राउन सरकार असफल हुने हो कि भन्ने चर्चा चल्न थालिसकेको छ । तर संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईका अनुसार चिनबाट घटेका पर्यटक अरु देशबाट बढाउने तर भ्रमण वर्षमा असर हुन नदिने प्रतिवद्दता प्रस्तुत गरेका छन् ।

क्यानाडा नेपालसंग कुराकानी गर्दै मन्त्रि भट्टराईले भने, "नेपालमा चिनबाट अत्याधिक पर्यटकहरु आउने गरेका छन् । यस वर्ष कोरोना भाइरसको कारण केहि हद सम्म चिनियाँ पर्यटकहरु अहिले घुम्ने मुडमा छैनन् र यसका कारण नेपाल आउने पर्यटकहरुमा घट्ने देखिएको छ । तर हामीले यो अवस्था मुल्यांकन गरेर नयाँ रणनिति अपनाउदै छौ जसले गर्दा भ्रमण वर्षलाई कुनै खालको पनि असर पर्ने छैन ।"

"चिनमा अहिले प्रचार प्रसार रोकेर हामी अब भारत देखि अरु देशहरुमा प्रचार प्रसार बढाएका छौं । चिनबाट घटेको पर्यटकको मात्रा अब अरु देशबाट भित्राउने छौं र भ्रमण वर्षलाई सफल पार्नेछौ । हाम्रो भ्रमण वर्ष एउटै देशको पर्यटकमा मात्र निर्भर नभएका कारण चिनियाँ पर्यटक घट्दैमा भ्रमण वर्षलाई ठुलो असर पर्न दिदैनौ ।"