सोमबार
२४ चैत
२०७६

निर्मला काण्डमा बर्खास्तमा परेका एसपी बिष्ट भन्छन्, मेरो चरित्र हत्याको क्षतिपूर्ति हुनसक्दैन

बुधबार माघ २९, २०७६/ Wednesday 02-12-20

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट निलम्बनमा परेका थिए । सोही प्रकरणमा अनुसन्धानको दायरामा परेका उनी कञ्चनपुर जिल्ला अदालतको आदेशअनुसार १० लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका थिए । अदालतले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको अभियोगमा साढे १० लाख रुपैयाँ धरौटी रकम तिर्न आदेश दिएको थियो । 


सरकारले उक्त घटनाको छानबिनमा संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न डीआईजी धिरु बस्नेतको संयोजकत्वमा गठित समितिसहितको सिफारिसको आधारमा डिल्लीराज बिष्टलाई कारबाही गरेको हो । तर, अहिले प्रहरी नायव महानिरीक्षक (डीआइजी) सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले धिरु बस्नेत नेतृत्वको प्रतिवेदन गलत रहेको निष्कर्ष निकाल्दै नयाँ प्रतिवेदन बुझाएको छ । नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयले आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको छ ।

यसप्रति प्रतिक्रिया स्वरुपमा डिल्लीराज बिष्टले आफ्नो चरित्र हत्याको क्षतिपूर्ति हुन नसक्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । 

फेसबुकमा उनले लेखेका छन्, ‘हामीले हिँड्दै गरेको बाटो अत्यन्त कठिन थियो तर सही थियो। जहाँ भारी बिसाएका थियौं त्यहीबाट भारी उठाउने निष्कर्षमा पुग्नु नेपाल प्रहरीको सफलता नै मान्नु पर्छ। सतहमा समथर देखिन्थ्यो तर जमीन भित्र अनेकौं एम्बुसहरु थिए । ती अदृश्य एम्बुसहरुले प्रहरी अनुसन्धानलाई गलत बाटोमा निर्दे्शित गरेर अन्योल बनाए। तर आज नेपाल प्रहरीले ती एम्बुसहरु पत्ता लगाएर पत्ता लगाएर सही निष्कर्षमा पुगेको जस्तो लाग्छ। अझै अनुसन्धानका हरेक पाइलाहरुमा आ आफ्ना स्वार्थहरुका त्यस्तै अनेकौं एम्बुसहरू छरपस्ट छन्। प्रहरीले सावधानी पूर्वक अगाडि बढ्नु जरुरी छ। गलत कुरालाई केही समय लुकाएर राख्न सकिन्छ, पछि सतहमा बाहिर आइहाल्छ । आखिर सत्यता सतहमा छताछुल्ल भएर आएको छ। नेपाल प्रहरी सफलताको अन्तिम बिन्दुमा पुगेको महसुस भएको छ। सबै कुराको न्याय र भौतिक क्षतिपूर्ति हुन सक्ला तर एउटा असल राष्ट्रसेवकलाई इमान्दारी र राष्ट्रभक्ति मेटाउने गरी गरिएको चरित्र हत्याको कहिले र कुनै कुराले पनि क्षतिपूर्ति हुने छैन।’