Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेची भन्सारमा बेथिति : कार्यालयका प्रमुखकै प्रत्यक्ष संलग्नतामा राजस्व चुहावट

बुधबार, मंसिर ७, २०७९

झापा – झापाको काकडभिट्टास्थित मेची भन्सार कार्यालयका प्रमुखकै प्रत्यक्ष संलग्नतामा राजस्व चुहावट हुँदै आएको फेला परेको छ ।

भन्सार प्रमुख केशबराज ओलीको निर्देशनमा कर्मचारीले रातको समयमा भारतबाट नेपाल भित्रने तरकारीका सवारीलाई बिषादी परिक्षण नै नगरी रकम लिएर भन्सार जाँचपास गराउँदै आएको तथ्य फेला परेको हो ।

भन्सारका कर्मचारीले प्रतिसवारी पाँच देखी सात हजार रुपँया सम्म रकम लिएर बिषादी परिक्षण बिनै नेपाल भित्रन दिने र तौल समेत भएकोभन्दा कम देखाउने गरेका छन् ।

दैनिक १० देखी १२ वटा तरकारी बोकेका सवारी रातको समयमा भन्सार पास हुँदै आएका छन् भने ति सवारीमा गुटखाजन्य पदार्थ, रेडबुल र मोटरपाट्र्स समेत लुकाएर नेपाल भित्राइदै आएको भन्सार स्रोतले जानकारी दिएको छ ।

रकम असुलीका लागि भन्सार प्रमुख ओलीले नायव सुब्बा अर्जुन सिटौलालाई खटाउँदै आएका छन् । अनियमितताको बिषयमा प्रमुख ओलीसँग जिज्ञासा राख्दा राति १० बजेसम्म बिषादी परिक्षण गर्ने प्रयोगशाला खुल्लै रहने हुनाले अनियमितताको कुरै नहुने दाबी गरे ।

तर, ओलीले दाबी गरेजस्तो मध्यरातीसम्म बिषादी परिक्षण प्रयोगशाला खुल्ला नै नरहने गुणस्तर प्रमाणीकरण कार्यालय, काकडभिट्टाका सुवासचन्द्र वस्तीले जानकारी दिए ।

यतिमात्र होइन, करिब २ हप्ता अघि मेची भन्सारमार्फत जाचँपास भएको जुत्ता बोकेको २ वटा सवारी समेत भन्सारले न्युन मुल्याङ्कन गरेको भेटेपछी इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले बाटोबाटै पक्राउ गरेको थियो ।

जुत्ता साडेचार डलर प्रतीजोर भन्सार मुल्याङ्कन गर्नुपर्नेमा साडेदुई डलर मात्रै मुल्याङ्कन गरेको पाइएपछी राजस्व अनुसन्धान इटहरीले सो सवारी पक्राउ गरेको थियो ।

तर, आफु र कर्मचारी फस्न सक्ने भन्दै भन्सार प्रमुख ओलीले इटहरीले पक्रिएको सवारी राजस्व अनुसन्धान बिभागका उप–सचिव दयानन्द केसीसँगको मिलेमतोमा रातारात राजस्व अनुसन्धान बिभाग काठमाण्डौ पुर्याएर करिब ३१ लाख रुपँया मात्रै जरिवाना गरेर छोडीएको थियो ।

५० लाख रुपँया भन्दा बढी राजस्व चुहावट गरेको पाइएमा संलग्न कर्मचारीलाई समेत मुद्धा चल्ने कानुनी प्रावधान भएकाले त्यसबाट बच्न जुत्ताका सवारी रातारात काठमाण्डौ लगिएको हो ।

राजस्व अनुसन्धान बिभागका उप–सचिव दयानन्द केसी र भन्सार प्रमुख ओली एकै ब्याजका मिल्ने साथी भएकाले मुद्धा चलाउनुपर्ने जुत्ता प्रकरणमा ३१ लाख रुपयाँ जरिवाना मात्रै गराएर छाडीएको हो ।

यो प्रकरणमा समेत भन्सार प्रमुख र राजस्व अनुसन्धान बिभागका उप–सचिव केसीले लाखौ रुपँयाको चलखेल गरेको भन्सारकै कर्मचारीहरुको दाबी छ । ओली भन्सार प्रमुख बनेर आएपछी भन्सार परिसरमा भारतीय ब्यापारी र बिचौलियाको घुइचो नै लाग्ने गरेको भन्सारकै कर्मचारीहरुको दाबी छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५६
प्रतिक्रिया दिनुहोस्