को हुन् पाकिस्तानी नयाँ प्रधानमन्त्रीका लागि चर्चामा रहेका सेहेबाज ?
काठमाडौं । पाकिस्तानमा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ प्रधानमन्त्रीको चर्चाको सुरू भएको छ ।
स्थानीय सञ्चारमाध्यमले सेहेबाज सारीफ पाकिस्तानका नयाँ प्रधानमन्त्रीको सम्भावना बढी देखाएका छन् । उनी पाकिस्तानको प्रतिपक्ष दल पाकिस्तान मुस्लिम लिगका नेता हुन् । इमरानको अविस्श्वासको प्रस्तावको नेतृत्व उनैले गरेका थिए ।
पाकिस्तान बाहिर त्यति परिचित नभए पनि सारीफलाई पाकिस्तानमा प्रभावकारी प्रशासकको रूपमा लिने गरिन्छ । सारीफको पाकिस्तान सैन्य संयन्त्रसँग पनि सुमधुर सम्बन्ध रहेको जानाकारहरू बताउँछन् । यहाँ सत्ताको बागडोर सम्हालन सैन्य संयन्त्रसँग सुमधुर सम्बन्ध अपरिहार्य मानिन्छ ।
इमरान खानको सत्ता ढल्नुको एउटा कारणमा सैन्य संयन्त्रसँगको बिग्रँदो सम्बन्ध पनि एक मानिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्री रहँदा सारीफले बेइजिङद्वारा वित्त पोषित परियोजनाहरूमा चीनसँग निकटतापूर्वक काम गरी प्रशासनिक कौशलता प्रदर्शन गरेका थिए । अमेरिकासँग उनको राम्रो सम्बन्ध रहेको बताइएको छ ।
सन् १९९९ मा पाकिस्तानमा भएको सैन्य विद्रोहपश्चात जेल सजाय भोगेका सारीफलाई त्यसपछि साउदी अरबमा निर्वासित गरिएको थियो । उनी सन् २००७ मा मात्र पाकिस्तान फर्किएका हुन् ।
उनी नवाज सारीफका भाइ हुन् । सम्पत्ति लुकाएको आरोपमा सन् २०१७ मा नवाज दोषी देखिएपछि पाकिस्तान मुस्लिम लिगको प्रमुखको रूपमा सेहेबाजको उदय भएको हो ।