चीनले सर्बियालाई दियो हवाई प्रतिरक्षा मिसाइल
काठमाडौं - रुसको सहयोगी मुलुक सर्बियाले चीनबाट हवाई प्रतिरक्षा मिसाइल पाएको छ । पश्चिमा मुलुकले रुसका सहयोगी मुलुकलाई हतियार दिने कार्यले उक्त क्षेत्रको सुरक्षा चुनौती बढाउन सक्ने भन्दै चेतावनी दिइरहेको समयमा चीनले सर्बियालाई हतियार प्रदान गरेको हो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार शनिबार बिहान चीनको एयरफोर्सको वाई-२० ढुवानी विमान सर्बियाको बेलग्रेड विमानस्थलमा अवतरण गरिएको हो । उक्त विमानले एचक्यु-२२ प्रतिरक्षा मिसाइल बोकेको समाचारमा उल्लेख छ । यस विषयमा सर्बियाको रक्षा मन्त्रालयले भने केही प्रतिक्रिया दिएको छैन । अमेरिकी सैन्य गठबन्धन नेटोका दुई मुलुक टर्की र बुल्गेरियालाई पार गर्दै सर्बियामा सैन्य उपकरण आपूर्ति गर्नुलाई चीनको बढ्दो विश्वव्यापी प्रभावको रुपमा हेरिएको छ ।
सर्बियासँग चीनले सन् २०१९ मा मध्यमदूरीका मिसाइल प्रणाली बिक्रीको सम्झौता गरेको थियो । यसअघि सर्बियाले नेटोमा आबद्ध मुलुकसँग मिसाइल सुरक्षा प्रणाली खरिदको प्रस्ताव गरेको भए पनि उनीहरुले अस्वीकार गरेका थिए । त्यसैले उसले चीनसँग उक्त प्रणाली खरिदको निणर्य गरेको हो । सर्बियाले राष्ट्रसंघमा युक्रेनमाथि गरिएको रुसको आक्रमणको निन्दा गरे पनि उसले रुसमाथि कुनै प्रतिबन्धको भने घोषणा गरेको छैन । सर्बिया युरोपमा चिनियाँ मिसाइल सुरक्षा प्रणालीको प्रयोग गर्ने पहिलो मुलुक बन्ने छ ।