भोको बस्दा (व्रत बस्दा) हुने चमत्कार
नखाईकन म त एक छाक पनि बस्न सक्दिनँ । खाली पेट त सहनै सक्दिनँ । खाने ज्यानलाई किन दुःख दिने ? खाना छोडेर को ठूलो भा छ र ?
कतिपय व्यक्तिको मुखबाट निस्कने यस किसिमका भनाइले के दर्शाउँछन् भने जिब्रो र पेटको दासता कति उग्र रुपमा रहेछ अनि स्वास्थ्यप्रति कति ठूलो वेवास्ता ।
आदरणीय पाठकवृन्द ! वर्षौवर्षको अनवरत खानपानले पेट र आन्द्रामा कति मलविकार थुप्रिएको होला ? शरीरभन्दा चार गुणा लामो मानवीय आन्द्रा सहित पाचन कार्य सम्पन्न गर्ने मुखदेखि मलद्वारसम्म अनेकौँ अङ्गप्रत्यङ्गहरु छन् । यति लामो मार्गमा पाचन प्रक्रिया सञ्चालित हुने क्रममा पक्कै पनि मल, दोष तथा विषाक्त तत्वको केही न केही अंश त जम्मा भएकै हुन्छ होला । आमरुपमा सुनिआएकै कब्जियत तथा कुपित मल नै सबै बिरामीहरुको मूल जड हो । यसलाई थप स्पष्ट्याउँदै आयुर्वेदले भनेको छ— सर्वेसामेव रोगाणां निदानं कुपिताः मः अर्थात् सबै रोगको मूल कारण पेटमा सञ्चित मल हो ।
वस्तुतः उपवास त्यस्तो प्रविधि हो, जसले पेट, आन्द्रा र शरीरमा सञ्चित मल र दोषलाई बाहिर निकाल शारिरीक कालाकल्प गर्ने प्रभावकारी काम गर्दछ । उपवास प्रक्रियालाई प्रसिद्ध प्राकृतिक चिकित्साविद् बिठ्ठदास मोदी यसरी सम्झाउनुहुन्छ :
तपाईं जब भोजन बन्द गर्नुहुन्छ, तपाईंको पेटको क्षीण जीवनशक्ति विष र विकारको शमन गर्ने काममा केन्द्रित हुन्छ । भोजन नभेटेपछि त्यसले भित्रका रोगलाई खान प्रारम्भ गर्दछ ।
जब पेटमा पाचक कार्य गर्ने द्रव्य या रस निस्कन बन्द हुन्छ, पुरानो विकार जति निकालेर फ्याँक्ने प्रयत्न आरम्भ हुन्छ । पेटको विकार सजिलैसँग बाहिर निस्कन नमानेमा जीवनशैली र रोगका बीचमा युद्ध चल्न थाल्दछ । जसरी निभ्न लागेको दियो एक पटक जाग्न खोज्छ, त्यसैगरी ती रोगविकारहरु पनि जागेजस्ता देखिन्छन् ।
एक किसिमले जीर्ण रोग तीव्र रोगमा परिणत हुन पुग्दछ र अन्ततः बाहिरिन बाध्य हुन्छ ।
कहिलेकाहीँ खानपिन बन्द गरी भोको बस्ने गर्दा व्यक्तिलाई निराहार रहेजस्तो त लाग्छ तर त्यस्तो उपवास व्यक्ति वा रोगीलाई होइन, रोगलाई भोको राखेर बाहिर खेदाउने प्राकृतिक क्रिया हो । अतः भन्ने गरिन्छ— भोको बस र आफूलाई होइन, रोगलाई मारिदेऊ ।
साभार : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०५
प्रतिक्रिया दिनुहोस्