Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ— नेपालसँग भएको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १६.३ प्रतिशतले कमी आएको हो ।

२०७८ असार मसान्तमा विदेशी विनिमय सञ्चिति रु.१३९९ अर्ब ३ करोड रहेको थियो भने फागुन मसान्तसम्म आईपुग्दा ११७१ अर्ब रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई रु.१०१८ अर्ब ५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुन मसान्तमा ०.९ प्रतिशतले कमी आई रु.१५२ अर्ब ९५ करोड कायम भएको छ । २०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् ।

असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:१५
प्रतिक्रिया दिनुहोस्