नेभिगेशन
सिएन विशेष

नयाँ वर्ष मनाउने अनेक चलन, कुन देशमा कसरी मनाइँन्छ? 

काठमाडौँ— वर्षको प्रथम दिन, अर्थात् नयाँ वर्ष। विक्रम संवत् २०७९ को नयाँ बिहानी भएको छ ।

हरेक देशले प्रचलित परम्परा अनुसार नयाँ वर्षको दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्छन्।

यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ।विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।

विश्वका हरेक देशले आफ्नो पात्रो अनुसार भिन्न–भिन्न तिथिमा फरक–फरक तरिकाले नयाँ वर्ष मनाउँदै आएका छन्।विभिन्न देशहरूले नयाँ वर्ष मनाउने फरक–फरक शैली र प्रचलनका बारेमा हामी यहाँ चर्चा गर्दैछौँ।

इन्डोनेसियाः इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भन्ने गरिन्छ।त्यसदिन यहाँका मानिसहरू नयाँ लुगा लगाउँछन् र मीठामीठा परिकार खाएर एक आपसमा बधाई र शुभकामना आदानप्रदान गर्दछन्।

मङ्गोलियाः यस दिन मङ्गोलियाका मानिसहरू रातभर जाग्राम बसेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आर्शीवाद लिई मीठा परिकार खाएर रम्छन्।

कुवेतः नयाँ वर्षको अवसरमा रातभरि घरमा दिपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाँचगान गर्छन्।

मेक्सिकोः जनजातिको बाहुल्यता भएको यो देशका विभिन्न स्थानमा नयाँ वर्षका दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँने चलन छ।

जर्मनीः जर्मनीमा नयाँ वर्षका दिन पानीले भरिएको धातुको भाँडामा मुद्रा (सिक्का) खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन रहेको पाइन्छ।

पोर्चुगलः यस देशमा नव वर्षको दिन साँढे जुधाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकाबाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ।

बेलायतः यहाँ ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन्।मानिसहरू नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन् र रातको ठीक १२ बजे बढाई हुन्छ।यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको आरम्भ भएको भन्ने हुन्छ।

भारतः भारतको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ।बङ्गालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिने चलन छ।त्यस्तै कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेँलो लुगा लगाएर आफ्नो बन्धुबान्धवलाई उपहार दिने चलन छ।आसाममा नयाँ वर्षको दिन पशुलाई पूजा गर्ने चलन छ।पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाँचगान गर्ने चलन छ।

राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन रहेको पाइन्छ।

जापानः जापानमा नयाँ वर्षलाई’ ‘सोगात्सु’ भनिन्छ भने नयाँ वर्षको दिनलाई ‘गानटन’ भनिन्छ।यो दिन जापानीको खास खाना ‘ओसेची रोरी’ खान्छन्।जापानमा डिसेम्बर २९ देखि ३ जनवरीसम्म नयाँ वर्षको खुशीयाली मनाउने गरिन्छ।यसलाई ‘याकुरी’ भनिन्छ।जापानमा नयाँ वर्षमा रातको १२ बजे १ सय १८ पटक मन्दिरको घण्टी बजाउने चलन छ।

चीनः चीनमा एक महिना अगाडिदेखि नै नयाँ वर्षको तयारी गरिन्छ।चिनियाँहरूले रातो रङलाई शुभ र राम्रो मान्ने भएकाले उनीहरू नयाँ वर्षका दिन घरलाई पूरै रातो रङ्गले रङ्ग्याउने गर्दछन्।मानिसहरू नयाँ लुगा लगाएर, घर–आँगनको साफ–सफाई गरेर, पटाका पड्काएर नयाँ वर्षलाई स्वागत गर्छन्।नयाँ वर्षलाई पटाका पड्काएर स्वागत गर्दा जीवनमा सकारात्मक परिवर्तन आउने जन विश्वास रहेको छ।

स्पेनः स्पेनका मानिसहरू मध्य रातको १२ बजे अङ्गुर खाएर नयाँ वर्षको थालनी गर्दछन्।स्पेनमा अङ्गुरको उत्पादन अत्याधिक हुने गर्दछ, त्यसैले त्यहाँका जनता यो फल खाएर सुख र समृद्धिको कामना गर्ने चलन छ।

रुसः रुसका मानिस नयाँ वर्षलाई ‘एस नोभिम गोडोम’ को नामले स्वागत गर्छन्।नयाँ वर्षको दिन रुसी जनता आफूले मनले चाहेको इच्छालाई कागजमा लेखेर नयाँ वर्ष मनाउने गर्छन्।आफ्नो इच्छा लेखिएको सो कागजमा एक गिलासमा मदिरा राखेर जलाइन्छ।त्यो खरानी १२ बज्नु अगाडि नै स्याम्पियनमा हालेर पिउँदा शुभ हुने जनविश्वास छ।

स्वीट्जरल्याण्डः यो देशमा नयाँ वर्ष मनाउने शैली ज्यादै पृथक छ।जमिनमा आइसक्रिम पोखेर यहाँका मानिस नयाँ वर्षको आरम्भ गर्छन्।यसो गर्दा भाग्य चम्किने र जीवनमा सफलता पाइने जनविश्वास यहाँ रहेको छ।

थाइल्यान्डः थाइल्यान्डमा एक अर्कालाई पानी छ्यापेर नयाँ वर्ष मनाउने चलन छ।नयाँ वर्षको दिन थुपै्र मानिस बाल्टीभरि पानी बोकेर बाटोमा हिँडिरहेको देखिनु सामान्य कुरा हो।

ब्राजिलः ब्राजिलमा नयाँ वर्षमा गेडागुडी खाने चलन छ।गेडागुडीले धनको प्रतिनिधित्व गर्ने र गेडागुडी खाँदा वर्षभरि शुभ हुने जन विश्वास रहेको पाइन्छ।

रोमानियाः नयाँ वर्षमा रोमानियामा मानिस भालुको जस्तो लुगा लगाएर नाच्ने गर्छन्।भालुको लुगा लगाएर नाच्दा दानवी शक्ति भाग्ने त्यहाँका मानिसहरूको विश्वास छ।

दक्षिण अफ्रिकाः दक्षिण अफ्रिकाको ‘जोहानसबर्गमा’ नयाँ वर्षमा मानिसले आफ्नो घरको झ्यालबाट अनावश्यक फर्निचर फाल्ने चलन छ।नयाँ वर्षमा केही अनावश्यक सामान आफ्नो घरमा नरहोस् भनेर त्यसो गर्ने गरिएको भनाई छ।

स्कटल्यान्डः स्कटल्यान्डमा मध्यरातमा सबैभन्दा पहिले को आफ्नो साथीको घरमा पुग्न सक्छ र नयाँ वर्षको शुभकामना दिन्छ भन्ने प्रतिस्पर्धा नै चल्छ।त्यहाँका सबै मानिस नयाँ वर्षका दिन आफू नै सबैभन्दा पहिले साथीको घरमा पुग्न पाउँ भन्ने साचेर अगाडि बढ्छन्।

वि.सं. २०७९ प्रारम्भ भएको सुखद अवसर तपाईँ आफ्नो इच्छा अनुसार मनाउनुहोस्, आइएनएस(स्वतन्त्र समाचार समूहका तर्फबाट तपाईँलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना।

श्रोत: आइएनएस—स्वतन्त्र समाचार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिएन विशेष