श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा गोली चल्दा एक जनाको मृत्यु
काठमाडौँ– श्रीलंकामा सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । भीडलाई तितरबितर पार्न प्रहरीले हस्तक्षेप गर्दा अन्य ११ जना घाइते भएका छन् ।
उक्त घटनामा १० प्रहरी पनि घाइते भएका र उनीहरुलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलंकाको पश्चिम मध्य क्षेत्रमा पर्ने राम्बुक्काना शहरमा मंगलबार सरकार विरोधी प्रदर्शन भएको थियो । सोही क्रममा प्रहरीले गोली चलाएको थियो ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि राम्बुक्काना शहरमा कफ्र्यू लागू गरिएको छ । श्रीलंकामा पछिल्लो समय आर्थिक संकट गहिरिँदै गएपछि विभिन्न शहरमा सरकार विरोधी प्रदर्शन चर्किंदै गएको छ ।
प्रदर्शनका कारण राम्बुक्काना हुँदै सञ्चालन हुने रेल सेवासमेत प्रभावित भएको छ । प्रदर्शनका कारण निर्धारित समयभन्दा घण्टौँ ढिला रेल चलेको बीबीसीले जनाएको छ ।
सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनालाई श्रीलंकाका लागि अमेरिकी राजदूतले निन्दा गरेका छन् ।