Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँमा आजदेखि क्यान इन्फोटेक मेला, टिकटको मूल्य १ रुपैयाँ मात्र

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला लाग्दैछ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ ।

२७ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेक आगामी छ दिनसम्म चल्नेछ । यो पटक क्यान इन्फोटेकको टिकटको मूल्य एक रुपैयाँ मात्र राखिएको छ ।

जुन डिजिटल माध्यमबाट खरिद गर्नुपर्नेछ । यस पटकको क्यान इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी,इ–वेष्टम्यानेजमेण्ट, ई-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई-फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहनेछन् ।

जसमा विभिन्न सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउन सकिनेछ । साथै सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध हुनेछन् ।

यसैगरी आईओटी, ब्लक चेन तथा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् । यस वर्षको क्यान इन्फोटेक साढे तीन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१७
प्रतिक्रिया दिनुहोस्