पाँच जनाविरुद्ध ३६ करोडको मुद्दा दायर
काठमाडौं— नक्कली भ्याटबिल बनाएर कर छली गर्ने पाँच जनाविरुद्ध राजस्व अनुसन्धान विभागले ३६ करोड ११ लाख रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ ।
विभागले आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा दायर गरिएका व्यक्तिहरुमा काठमाडौं बाफल बस्ने शुभलक्ष्मी इन्टरनेसनलका सञ्चालक मनिष कुमार अग्रवाल तथा एचबी ट्रेड एन्ड सप्लायर्सका सञ्चालक हितेष कुमार अग्रवाल तथा साझेदार विमल अग्रवाल, एम के इन्टरनेसनलका सञ्चालक प्रमित महर्जन र गणपति ट्रेड लिंकका सञ्चालक दिपेन्द्रकुमार अग्रवाल छन् ।
उनीहरुविरुद्ध १८ करोड ५ लाख ६८ हजार ६ सय ४३ रुपैयाँ बराबर बिगो तथा सोही बराबर जरिवाना गरी कुल ३६ करोड ११ लाख, ३७ हजार २ सय ८६ रुपैयाँ बराबर असुलउपर गरिनुपर्ने मुद्दामा उल्लेख छ । यी फर्महरुले कर छली गर्ने उद्देश्यसहित जालसाजीयुक्त, नक्कली भ्याट बिजक खरिद गरेको विभागले जनाएको छ । त्यस्तै उनीहरुले नक्कली कागजात तयार पारी कर छली गरेको पनि विभागले दायर गरेको मुद्दामा भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०५:५६
प्रतिक्रिया दिनुहोस्