परमाणु हतियार प्रणाली थप सशक्त बनाउने उत्तर कोरियाको घोषणा
उत्तर कोरिया - उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशले परमाणु हतियारको सङ्ख्या बढाउने घोषणा गरेका छन् । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा भएको सैन्य प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गरेका हुन् ।
“हामी तीव्र गतिमा हाम्रो देशको पारमाणविक क्षमता सुदृढ बनाउन र विकास गर्न आवश्यक कदम चालिरहने छौँ,“ उनले भने। अन्तर्राष्ट्रिय निन्दा र प्रतिबन्धबाट अहिलेसम्म किम विचलित भएको देखिएको छैन । सोमवार उनले भनेका कुराले पनि यसलाई पुष्टि गरेको छ ।
सरकारी समाचार संस्था (केसीएनए) का अनुसार परमाणुअस्त्र प्रयोग गर्ने फौज परिचालित हुन जुनसुकै बेला पनि तयार हुनुपर्ने उनको भनाइ छ । उत्तर कोरियाका परमाणुअस्त्र वस्तुतः आफूविरुद्ध हुन सक्ने सम्भावित युद्धलाई निरुत्साहित गर्ने साधन भए पनि ती अरू उद्देश्यका लागि पनि प्रयोग सकिने उनको भनाइ छ ।
उनका शब्दले आफूमाथि आक्रमण भए उत्तर कोरियाले प्रत्याक्रमण गर्ने पुरानो भनाइ प्रतिध्वनित गर्छन् । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) पनि प्रदर्शन गरिएको उत्तर कोरियाली समाचार संस्था (केसीएनएले जनाएको छ । गत मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ पछि सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो ।
उत्तर कोरियाली उक्त कदमको संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले व्यापक आलोचना गरेका छन् । उक्त परीक्षणपछि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध घोषणा गरेको छ ।परमाणुअस्त्र बोक्न सक्नेगरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता संयुक्त राज्य अमेरिकासम्म रहेको दावी गरिएको छ ।
सोमवारको प्रदर्शनमा ध्वनिको गतिभन्दा तीव्र रूपमा जाने हाइपरसोनिक क्षेप्यास्त्र तथा पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक क्षेप्यास्त्रहरू पनि प्रदर्शन गरिएका दक्षिण कोरियाली अधिकारीले बताएका छन् । यद्यपि दक्षिण कोरियाली विज्ञहरूले उक्त परीक्षण सफल भएकोबारे आशङ्का व्यक्त गरेका थिए ।प्योङ्याङमा आयोजना हुने सैन्य परेडहरूमा सेनाले प्रायः ट्याङ्क, तोप र सैनिकको लामो लस्करसहित नयाँ अस्त्रहरू पनि प्रदर्शन गर्ने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:२६
प्रतिक्रिया दिनुहोस्