१० प्रकारका सामान आयातमा रोक (सूचीसहित)
काठमाडौँ– सरकारले विभिन्न १० प्रकारका सामानको पैठारीमा रोक लगाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनामा विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको उल्लेख छ ।
मंगलबार प्रकाशित सूचना अनुसार आगामी असार मसान्तसम्मका लागि ती सामानको आयातमा रोक लगाइएको जनाइएको छ ।
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु । २. सबै प्रकारका तयारी मदिरा ३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ) ४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ) ५. मोबाइल सेट ६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका) ७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने) ८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल ९. सबै प्रकारका खेलौनाहरु १०. खेल्ने तास ।
मन्त्रालयले आयातमा रोक लगाइएका यी सामानहरु नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि ल्याउन बन्देज नहुने जनाएको छ ।
साथै, वैशाख १३ गतेभन्दा अगाडि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।