Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतबाट आएन विजुली, उद्योगमा विद्युत कटौती

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - भारतबाट विद्युत् आयात गर्न नसक्दा औद्योगिक क्षेत्रले पर्याप्त बिजुली पाउन सकेका छैनन् । अझै केही दिन उद्योगहरूले बिजुली पाउने छैनन् । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतको बिहार क्षेत्रमा प्रसारण लाइन मर्मतका कारण बिजुली आयात हुन सकेको छैन । सोही कारण उद्योगहरूले बिजुली नपाएका हुन् । यो समस्या अझै केही दिन रहने उनले जानकारी दिए । ‘उहाँहरूले शुक्रबारसम्ममा मर्मत सकिने भन्नु भएको छ । भनेको समयमा मर्मत सकिए अगाडि पनि विद्युत् आयात हुनसक्छ । नभए ५/६ दिन पनि लाग्न सक्छ’, उनले भने ।

उद्योगहरूले बिजुली नपाउँदा उत्पादन प्रभावित भएको उद्योगी प्रदीप मुरारकाले बताए । आफूहरूले ‘अल्टरनेट’ गरेर विद्युत् दिन आग्रह गरेको तर प्राधिकरणले नसुनेको गुनासो उनले गरे । ‘कुनै दिन एक ठाउँमा, कुनै दिन अर्को ठाउँमा उद्योगहरूमा विद्युत् दिएर भए पनि उत्पादनमा सहजीकरण गर्न आग्रह गरेका छौं । तर, प्राधिकरणले हाम्रो कुरा नै सुनेको छैन’, उनले भने ।

उद्योगीले विद्युत् दिन गाह्रो भएको भए उद्योगका लागि बिजुली आउने तालिका दिन आग्रह गर्दा पनि नदिइएको गुनासो गरेका छन् । भारतबाट पर्याप्त बिजुली किन्न नपाएपछि विद्युत् प्राधिकरणले रातको सयममा उद्योगहरुमा फेरि बिजुली काटौती थालेको छ । नेपालका जलविद्युत् आयोजनाहरुको उत्पादन घटेका कारण रातको सयममा कतिपय क्षेत्रका उद्योगहरुलाई बिजुली दिन समस्या भएको नेपाल विद्युत् प्राधिरकणले बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतको बोलकबोलमा बिजुली बेच्ने ‘एक्सचेन्ज’ बजारमा दैनिक ४५ हजार मेगावाटसम्म बिजुलीको माग छ । तर, आपूर्ति भने १० हजार मेगावाटको मात्रै छ । ‘मागभन्दा आपूर्ति नै करिब ३५ हजार मेगावाट बिजुली कम भएकाले अधिकतम् भारु १२ रुपैयाँमा कोट (कबोल) गर्दा पनि हामीले कोट गरेको सबै बिजुली हामीलाई भागमा पर्दैन,’ घिसिङले भने, ‘५ सय मेगावाट बिजुलीका लागि कबोल गर्दा १०० मेगावाट बिजुली पनि पाइँदैन ।’

भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट चलिरहेकाले साँझको समयमा जसरी पनि विद्युत आपूर्ति गर्नुपर्ने बाध्यताका कारण पनि विद्युतको माग उच्च हुन पुगेको तर, त्यसअनुसार उत्पादन नभएकाले समस्या भएको घिसिङ बताउँछन् । उनकाअनुसार अहिले भारतीय बजारमा बिजुलीको मूल्य अधितकम्, न्युनतम् र औसत मूल्य नै भारु १२ कामय भएको बताए । विद्युत किन्ने सबैले अधिकतम् मूल्यमै कोट गर्दा बिजुली मागेअनुसार नपाइने अवस्था आएको घिसिङले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्