स्वावलम्बन नै मजदुरी
बंगालको एउटा सानो रेलवे स्टेशनमा आएर एउटा रेलगाडी रोकियो ।
सफा सुग्घर लुगा लगाएको एक युवकले कुल्ली भनेर बोलाउन थाल्यो । युवकको सामान त्यस्तो भारी पनि थिएन, केवल सानो बाकस थियो । गाउँको सानो स्टेशनमा कुल्ली पाइँदैनथ्यो ।
त्यसै बेला एक अधवैँसे उमेरको मानिस साधारण ग्रामीण लुगा लगाएर युवकको नजिकै आए । युवकले उनलाई कुल्ली सम्झिएर भने, तिमीहरु बडो सुस्त छौ । हिँड यो सामान बोकेर ।
त्यो मानिसले बाकस बोके र युवकको पछि पछि चुपचाप हिँडे । घरमा पुगेर युवकले बाकस राख्न लगाएर त्यो मानिसलाई ज्याला दिन लागे तब ती व्यक्तिले भने, धन्यवाद यसको आवश्यकता छैन ।
किन ? युवकले आश्चर्य मान्दै सोधे ।
त्यसै वेला युवकका दाइ घरबाट निस्किए र उनले ती मानिसले देखेर प्रणाम गरे । अब त्यो युवकलाई थाहा भयो जुन मानिसले उनको बाकस बोकेर ल्याएका थिए ती बंगालका विद्वान् ईश्वरचन्द्र विद्यासागर हुन् । युवक उनको खुट्टामा परे ।
विद्यासागरले भने, मेरा देशवासीले व्यर्थका अभिमान छोडिदिउन् र बुझून् कि आफ्नो हातले आफ्नो काम गर्नु गौरवको कुरा हो । उनीहरु स्वाबलम्बी बनून्, यो नै मेरो ज्याला हो ।
साभार: ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:२८
प्रतिक्रिया दिनुहोस्