चालु आवमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण
काठमाडौं - चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्ग विभागले सरकारलाई राहत मिल्ने गरी उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आंकलन सुनाएका छन् ।
विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ । यस्तै, उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ ।आर्थिक वर्ष सकिनुभन्दा करिब तीन महिना अगाडि विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । अघिल्ला दुई वर्षमा कोभिडका कारण नेपालको वृद्धिदर गम्भीररुपमा प्रभावित बनेको थियो । विभागले गरेको अनुमान सही सावित भएमा अर्थतन्त्रका लागि सुखद मानिने छ । यतिबेला कोभिडको असर नगण्य भइसकेकाले अर्थतन्त्रमा थप क्षति नपुग्ने विभागले जनाएको छ ।
विभागले भनेको छ, ’हालसम्म प्राप्त अनुमानहरूको अध्ययन गर्दा चालु आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ताको मूल्यमा ५.८४ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने देखिन्छ ।’ यस्तो वृद्धिदर आव २०७७/०७८ मा ३.८३ प्रतिशत हुने संशोधित अनुमान र आव २०७६/०७७ मा २.४२ प्रतिशतले ऋणात्मक रहेको अन्तिम अनुमान रहेको विभागको भनाइ छ ।
विभागले कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत र आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने जनाएको छ । चालू मूल्यअनुसार कुल उत्पाद आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड र चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रहने अनुमान छ ।
अर्थ मन्त्रालयले भने सात प्रतिशतको लक्ष्य राखेको छ । अर्थतन्त्रका विविध पक्षहरूलाई मापन गरी आर्थिक नीति निर्माण गर्न मूल्यांकन गर्नका लागि केन्द्रीय तथ्याङ्क विभागले नियमित रूपमा कुल गार्हस्थ्य उपभोग, बचत, लगानी आदि जस्ता महत्त्वपूणर् राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचकहरू तथा त्यससँग सम्बन्धित तथ्याङ्कहरू तयार गरी विभागले सार्वजनिक गर्दै आएको छ ।
यस्ता सूचकहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न सरोकारवालाहरूबाट व्यापक रूपमा प्रयोग समेत हुँदै आएको छ । नेपालमा राष्ट्रिय लेखा अनुमानहरू वि.सं. २०१८/१९ सालदेखि सुरु गरी वि.सं. २०२१/२२ देखि निरन्तर रुपमा प्रकाशन हुँदै आएको छ ।
यस क्रममा चालु आर्थिक वर्षको छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सचनाहरू एवं बाँकी अवधिको अनमान गर्दा केही हालको अवस्था र विगतका अवस्थाका अधारमा वस्तु तथा सा अनुमान गरी २०७८/७९ को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०७७/७८ को संशोधित अनुमान तथा विगत आर्थिक वर्ष २०७६/७७ को अन्तिम अनुमान प्रकाशित गरिएको हो ।
विभागको राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन नीतिबमोजिम आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ का अनुमानहरूलाई क्रमशः परिमार्जन सहित प्रकाशित गर्दै लगिने विभागले जनाएको छ।हालसम्म पनि बिश्वमा कोभिड १९ को महामारीको अवस्था विद्यमान रहेको, कोभिड १९ को असरलाई न्यन गर्नको लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने नै देखिएको विभागको भनाइ छ ।