पहिलो टी-२० क्रिकेट : नेपाल र जिम्बावे 'ए' भिड्दै
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे 'ए' बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो ।
नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ ।
टी-ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ । शनिबार (हिजो) पहिलो एक दिवसीय सिरिज सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल प्रभावित भएपछि खेल तालिका परिमार्जन गर्दै टी-२० अगाडि खेल्न लागिएको हो ।