'केजीएफ–२' को दबदबा कायमै, 'हिरोपन्ती २’ र ‘रनवे ३४’को कमाई निराशाजनक
काठमाडौँ– चलचित्र बजारमा दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ को दबदबा अझै कायमै छ । जसका कारण यसै साताको शुक्रबारदेखि प्रदर्शनमा आएका दुई बलिउड चलचित्र ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ बक्सअफिसमा निरीह देखिएका छन् । यी दुवै चलचित्रले प्रदर्शनको दुई दिनमा निरासाजनक कमाइ गरेका छन् ।
ट्रेलरले दुवै चलचित्रप्रति अपेक्षा चुल्याएको भएपनि दर्शकहरु हलसम्म आकर्षित हुन सकेका छैनन् । खराब ओपनिङ गरेका यी दुवै चलचित्रले बक्सअफिसबाट लगानीको ५० प्रतिशत उठाउने सम्भावना पनि न्यून रहेको चलचित्र विश्लेषकहरुको भनाइ छ ।
अभिनेता टाइगर श्राफको स्टारडमले फिल्म ‘हिरोपन्ती २’ कमाईमा बलियो हुने धेरैको आँकलन थियो । त्यसमाथि ट्रेलर जबर्जस्त थियो । तर, फिल्मले बक्सअफिसमा कमजोर ओपनिङ गरेको छ । बलिउड हंगामाका अनुसार हिरोपन्ती २ ले पहिलो दिन ६.५० करोड कमाएको छ भने दोस्रो दिन झन् कमजोर व्यापार गर्यो । शनिवार फिल्मले ५ करोड ५० लाख कमाएको छ । चलचित्रले दुई दिनमा १२ करोड कमाई गरेको छ ।
त्यस्तै, अभिनेता अजय देवगन अभिनित चलचित्र ‘रनवे ३४’को व्यापार ‘हिरोपन्ती २’को भन्दा कमजोर छ ।
चलचित्रले पहिलो दिन ५ करोड २५ लाख र दोस्रो दिन ३ करोड ५० लाख गरी जम्मा ८ करोड ७५ लाख कमाएको छ । दुई बलिउड फिल्मलाई प्रदर्शनको पहिलो हप्ता ५ करोड कमाउन पनि मुश्किल पर्दा ‘केजीएफ २’ले तेस्रो हप्तामा समेत ७–८ करोडमाथिको कमाई गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:३७
प्रतिक्रिया दिनुहोस्