चार महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लु
चितवन - कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो ।
अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लो पटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो । पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको उनले बताए । सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए ।
बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तीब्ररुपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक बिश्वत हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको हो ।
बागमती प्रदेश कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा. शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा बिक्रीगर्दा रोग फैलिएको बताए । जैबिक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ थियो । यो प्रदेशमा सबैभन्दा वढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ । सचिव डा. पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तीब्र परीक्षण गर्ने काम गरिरहेको र परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए ।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी बेहोर्नु परेको बताए । छिमेकी मुलुकहरुमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ थियो । पूर्बी क्षेत्रमा रोगको प्रकोप निकै वढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको बताए । नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।
नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्याङ्क नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए । रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्न समेत नसक्ने अबस्थामा कृषक पुगेको उहाँको भनाइ थियो । हालसम्मकै सङ्कटग्रस्त अबस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए ।