भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्कका समकक्षीसँग भेटवार्ता, के-के भयो कुराकानी ?
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार डेनमार्कका समकक्षीसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडेरिक्सेनसँग कोपनहेगनमा भेटवार्ता गरेका हुन् ।
एक दिने डेनमार्क भ्रमणका क्रममा उनले अति व्यस्त कार्यतालिकाका बीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरू गरेका छन् । प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ संभावनाहरुका बारेमा छलफल गरेको अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका छन् । सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गर्नु भएका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुगेका हुन् ।
उनले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गरेका थिए। उनीहरूका बीचमा भारत—जर्मनी सहकार्यका बारेमा विषेश कुराकानी भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल गर्नु भएको बताइएको छ ।
भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारी अनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि विषेश छलफल गर्नेछन् । सोमबार जर्मनीबाट युरोप प्रवेश गरेका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गरेका छन् भने बुधबार फ्रान्सको भ्रमण गर्ने भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४९
प्रतिक्रिया दिनुहोस्