प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मुगु - मुगुको छायाँनाथ नगरपालिका-२ मा पक्की सिँढी निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
उनीहरुले अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माण गर्दा वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई २९ लाख ७७ हजार ८२१ रुपैयाँ हानी नोक्सानी पुर्याएको अख्तियारको ठहर छ । प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, असिस्टेन्ट सव-इञ्जिनियर हस्तबहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) को कसुर गरेको देखिएको बताउँदै उनीहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिने र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको देखिँदा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुने एवम् प्रतिवादीहरुबाट असुल तथा जफत गरिएको बिगो छायाँनाथ रारा नगरपालिका मुगुलाई उपलब्ध गराउने मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।