'नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कटको स्थिति उत्पन्न भएको छैन'
काठमाडौँ - राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कटको स्थिति उत्पन्न नभएको बताएका छन् ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘नेपाली अर्थतन्त्रको भावी दिशा’ विषयमा आयोजना गरेको अन्तक्र्रियामा उनले सो कुरा गरेका हुन् । उनले नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कटको स्थिति नभएको तर अर्थतन्त्रका सबै सूचकलाई ठीक ढङ्गले परिचालन गर्न वित्तीय अनुशासन कायम गर्नुपर्ने बताए ।
उनले भने - 'नेपालमा आर्थिक सङ्कट आएको छैन, श्रीलङ्कासँग तुलनै गर्न मिल्दैन तर, नीतिगत र आर्थिक कमजोरी कारण नेपालमा पनि आर्थिक सङ्कटको खतरा कायमै छ, त्यसैले वित्तीय अनुशासन कायम राख्न प्रशासनिक सुधार र नीतिगत सुधार जरुरी छ'
उनले मुलुकमा मौलाउँदै गएको कुशासन र हचुवामा गरिने निर्णयले दुर्घटना निम्त्याउन सक्ने खतरा पनि औँल्याए । नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलङ्काको जस्तै रहेको तर अर्थतन्त्रको प्रवृत्ति भने फरक–फरक रहेको उल्लेख गरे । उनले तिर्न नसक्ने ऋण र पुर्न नसक्ने घाटा श्रीलङ्काको आर्थिक सङ्कटको मुख्य कारण रहेको भन्दै नेपालले पनि बेलैमा सजगता अपनाउनुपर्ने बताए ।
उनले श्रीलङ्काले सशस्त्र द्वन्द्व सकिएपछि पूर्वाधारमा अन्धाधुन्ध ऋण लिएको सन्दर्भ निकाल्दै बिना अध्ययन विदेशी ऋण लिएर लगानी गरेका कारण आर्थिक सङ्कटको सामना गर्नुपरेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:१२
प्रतिक्रिया दिनुहोस्