चेन्नईमाथि जित निकाल्दै बैंगलोर चौथो स्थानमा
काठमाडौँ– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा छैटौँ जित निकालेको छ ।
पुनेमा बुधबार राति बैंगलोरले चेन्नई सुपर किङ्सलाई १३ रनले हराउँदै आईपीएल तालिकाको चौथो स्थानमा उक्लिएको छ । सन् २०२० पछि बैंगलोरले चेन्नईमाथि पहिलो पटक जित हात पारेको हो ।
बैंगलोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । चेन्नईका लागि डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय इनिङ खेले । मोइन अलीले ३४ रन जोड्दा रुतुराज गायकवाडले २८ रन बनाए ।
बैंगलोरका हर्सल पटेलले ३ तथा ग्लेन म्याक्स्वेलले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । बैंगलोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए । फाप डु प्लेसिसले ३८ रन जोड्दा बिराट कोहलीले ३० रन बनाए ।
दिनेश कार्तिकले २६ रन जोड्दा रजत पटीदारले २१ रन बनाए ।
चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिए ।
जितसँगै बैंगलोरले ११ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।
चेन्नई १० खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:३४
प्रतिक्रिया दिनुहोस्