पल शाहको मुद्दामा सुनुवाइ हुँदै, उच्च अदालतले गर्ला जेलमुक्त ?
पोखरा - बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज (बिहीबार) उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ ।
उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पलको मुद्दा पेशी तोकिएको छ । बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालतमा निवेदन दिएका हुन् । तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र पूर्व नवलपरासीको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए ।
गत साता पनि उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ भएको थियो । तर दुवै अदालतको आदेशविरुद्ध छुट्टा-छुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाई सँगै पेश गर्न आदेश भएको थियो । आज दुवै मुद्दा एकसाथ पेश गरिएको छ । आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने पलको माग छ । नाबालिग पीडितले पनि अहिले बयान फेरिसकेकी छन् ।
पीडितको बयानका कारण पल थुनामुक्त हुने सम्भावना बढेको जनाइएको छ । यसअघि जाहेरीमा पलले बलात्कारको आरोप लगाए पनि पीडित नाबालिग र जाहेरवाला उनका बुबाले पनि बलात्कार नभएको बयान दिएका छन् । पीडितले नै झुटो जाहेरी दिएको बताएपछि पललाई थुनामुक्त गर्नुपर्ने उनी पक्षको माग छ । यसअघि दुवै जिल्ला अदालतमा पल शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै दुवै अदालतमा मुद्दा दर्ता भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०६
प्रतिक्रिया दिनुहोस्