बेलबारी नगरपालिकाको मेयर उम्मेदवारको गाडीमा आगजनी
विराटनगर– मोरङको बेलबारी नगरपालिकाको राप्रपाबाट मेयरका उम्मेदवार बनेका खेमप्रसाद गौतमको कारमा आगजनी भएको छ ।
गौतमको बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको प्रहरीले जनाएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।
प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता भएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०४
प्रतिक्रिया दिनुहोस्