जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको खराब शुरुवात
काठमाडौं - जिम्बाब्वेको ‘ए’ टोलीसँगको पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले खराब शुरुवात गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले शुरुवाती पाँच ओभरको खेलमा तीन विकेट गुमाएर ३६ रन जोडेको छ ।
नेपालका कुशल भुर्तेल १९ रन बनाएर आउट भए । त्यस्तै आसिफ शेख र आरिफ शेख समान ५/५ रनमा क्याच आउट भएका छन् । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको हो । भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । यसअघि गएको १७ गतेदेखि तय भएको एक दिवसीय श्रृङ्खला वर्षाका कारण प्रभावित भएपछि खेल तालिका परिवर्तन गरिएको थियो ।
विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग खेलेको टी-२० श्रृङ्खला भने बराबरी भएको थियो । तीन टी-२० श्रृङ्खलामा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई ८ विकेटले हराएको थियो ।