नबिल बैंकले पहिलोपल्ट ल्यायो ‘बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी’ कार्यक्रम
काठमाडौं - नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (USDA ) द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम GSM 102 अन्तर्गत बैंकलाई सूचीकरण गर्न USDA सँग सम्झौता गरेको छ ।
नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एक मात्र बैंक हो । यो व्यवस्थासँगै नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने छ । युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकको तर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्ने छैन ।
यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्रमार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्ने छन् । युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुङ्गा हो ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १४८ शाखा, १८७ एटिएम र एक हजार पाँच सय बढी नबिल रेमिट एजेन्टहरु रहेको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।