चीनमा आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो
काठमाडौं - चीनको चाङ्सा शहरमा एक साताअघि एक भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार शुक्रबार भवनबाट उद्धार कार्य सकिँदासम्म ५३ जनाको मृत्यु भएको हो । यो भवनबाट १० जनाको उद्धार गरिएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार भवनमा हराएका सबैको खोजी कार्य सकिएको छ । गत अप्रिल २९ मा अचानक उक्त आवासीय भवन भत्किएको थियो ।
अहिलेसम्म यो भवन निर्माण तथा यसको सुरक्षाबारेको मापदण्ड पालना नगरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको छ । यो भवन भत्किएको पाँच दिनपछि बिहीबार एक जनाको जीवितै उद्धार गरिएको थियो । भवन भत्किएपछि त्यहाँ हराइरहेका मानिसहरुको खोजीको लागि कुकुर, हाते उपकरण, ड्रोन र विद्युतीय उपकरणहरुको प्रयोग गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:३५
प्रतिक्रिया दिनुहोस्