मोडलिङमा रमाउन चाहन्थिन् सिदरा, असन्तुष्ट भाइले गरे हत्या
काठमाडौँ– पाकिस्तानको पन्जाब प्रान्तमा एक युवकले आफ्नै दिदीको हत्या गरेका छन् । फेशन मोडलिङमा लागेकी सिदरा खालिदको उनकै भाइ हमजा खालिदले हत्या गरेका हुन् ।
सिदरा मोडलिङ पेशामा लागेकोमा उनका भाइ निक्कै असन्तुष्ट बनेको र त्यही कारण मोडलको हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् ।
हमजाले सिदरामाथि गोली प्रहरी गरी हत्या गरेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
पन्जाब, अकेराको रेनाला सिटीका एसएचओ इन्स्पेक्टर जावेद खानका अनुसार सिदरा खालिदलाई मोडलिङप्रति निक्कै रुची रहेकाले उनले फैसलबादमा मोडलिङ गर्दै आएकी थिइन् ।
रमजानको महिनामा उनी पहिल्ला केही दिन आफ्नो घर ओकरा आएकी थिइन् । ईद सकिएपछि उनी पुनः मोडलिङका लागि फैसलबाद फर्किने बेला उनका परिवारले आपत्ति जनाएका थिए ।
२२ वर्षीया सिदरामाथि उनका परिवारका सदस्यले मोडलिङ छाड्न दबाब दिँदै आएका थिए । यही कारण उनको हत्या भएको प्रहरी अधिकारीले बताएका छन् । सिदराकी आमाले उजुरी दिएपछि प्रहरीमा एफआईआर दर्ता भएको छ ।
सिदराले स्नातकसम्मको पढाइ पूरा गरेकी थिइन् । परिवारमा उनका अरु तीन बहिनी तथा एक भाइ थिए । चार दिदी बहिनीका एक मात्र भाइ हमजाले सिदराको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
मोडलिङ छोड्न परिवारले दिएको दबाबलाई सिदराले अस्वीकार गर्दै आएकी थिइन् । यसै विषयमा सिदरा र भाइबीच विवाद भएको थियो । विवादका समयमा उनीहरुका पिता पनि घरमै रहेको र पिताको पेस्तोलले सिदरामाथि हमजाले गोली चलाएका थिए । सिदराको बायाँ आँखामाथि गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले भाइलाई हतियारसहित गिरफ्तार गरेर हत्या आरोपमा मुद्दा चलाउने तयारी गरिरहेको छ ।
मानवअधिकार संस्था ह्युमन राइट्स वाचको सन् २०२१ को प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष एक हजार महिलाको हत्या आफ्नै परिवारबाट हुने गरेको छ । आफ्नै परिवारका पुरुष सदस्यबाट महिलाको हत्या हुनुलाई ‘अनर किलिङ’ भन्ने गरिन्छ ।