Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको नागरिकता नपाएपछि सयौँ पाकिस्तानी हिन्दू स्वदेश फिर्ता

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– भारतको नागरिकता पाउने आशामा राजस्थानमा बसोबास गरिरहेका करिब आठ सय पाकिस्तानी हिन्दू स्वदेश फर्किएका छन् ।

भारतमा पाकिस्तानी अल्पसंख्यक प्रवासीहरुको अधिकारका लागि आवाज उठाउँदै आएको संस्था सीमान्त लोक संगठकन (एसएलएस) ले सन् २०२१ मा सो संख्यामा पाकिस्तानी हिन्दु स्वेदश फिर्ता भएको दाबी गरेको हो ।

भारतीय अंग्रेजी पत्रिका द हिन्दूले प्रमुखताका साथ छापेको उक्त समाचारमा नागरिकताका लागि आवेदन दिएपछिको प्रक्रियामा कुनै प्रगति नभएपछि नागरिकता पाउने आशा परित्याग गर्दै प्रवासी हिन्दू पाकिस्तान फिर्ता भएको जनाइएको छ । यो तथ्यांक सन् २०२१ को मात्रै रहेको समाचारमा उल्लेख गरिएको छ ।

एसएलएसका अध्यक्ष हिन्दू सिंह सोढालाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ, ‘यसरी स्वदेश फिर्ता भएकाहरुलाई पाकिस्तानी एजेन्सीले भारतको बदनाम गर्न प्रयोग गर्छन् । मिडियाको अगाडि ल्याएर उनीहरुलाई भारतमा आफूहरुमाथि नराम्रो दुव्र्यवहार भएको बयान दिन बाध्य पारिन्छ ।’

भारतको गृह मन्त्रालयले सन् २०१८ मा नागरिकता आदेवनका लागि अनलाइन प्रक्रिया सुरु गरेको थियो ।

मन्त्रालयले सात राज्यमा पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशबाट आउका हिन्दू, सिख, पारसी, जैन तथा बौद्ध व्यक्तिलाई नागरिकता प्रदानका लागि अनलाईन आवेदन लिन निर्देशन दिएको थियो ।

प्रवासी सम्बन्धी नागरिकता कानुन १९५५ को धारा ५ र ६ अनुसार नागरिकता दिन सम्बन्धित अधिकारीलाई अधिकार प्रदान गरिएको छ ।

यद्यपि, सबै प्रक्रियालाई अनलाइन गरिएपनि म्याद सकिएका पाकिस्तानी पासपोर्टलाई भने अनलाइन पोर्टलले स्वीकार गर्दैन । जसका कारण पासपोर्ट नवीकरणका लागि दिल्लीस्थित पाकिस्तानको उच्चायोग जानु पर्ने र त्यसका लागि महंगो खर्च व्यहोर्नु पर्ने शरणार्थीहरुको बाध्यता रहेको छ ।

अध्यक्ष सिंहका अनुसार राजस्थानमा मात्रै अझै २५ हजार पाकिस्तानी हिन्दू नागरिकताको पर्खाइमा रहेका छन् । जसमध्ये केही व्यक्ति दुई दशकदेखि नागरिकताको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्