जिम्बाबे ‘ए’ सँगको श्रृंखला नेपाललाई, अन्तिम खेलमा ६ विकेटको जित
काठमाडौँ– जिम्बाबेसँगको एक दिवसीय क्रिकेट शृंखला नेपालले २-१ले जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा जिम्बाबे ‘ए’ लाई ६ विकेटले पराजित गर्दै नेपालले श्रृंखला जितेको हो । ३३ ओभरमा २ सय १४ रनको लक्ष्य नेपालले एकतीसाैँ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीकाे सर्वाधिक महत्वपूर्ण योगदान रह्यो । कुशलले ८४ र दिपेन्द्रले रन बनाए । यस्तै, विनोद भण्डारीले नटआउट २७ र आसिफ शेखले २९ रन बनाए ।
कीर्तिपुरमा टस जितेर नेपालका कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ३३ ओभरमा २ सय १३ रन बनाएको थियो ।
जिम्बाबे ए का ताडिवानाशे मारुमानीले ५०, कुट्जाई माउन्जेले ३९ र राेय कायाले ३६ रन बनाए ।
नेपालका किशोर महतोले सर्वाधिक ५ विकेट लिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । किशाेरले ७ ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिए ।
मैदान भिजेका कारण ढिलो मात्र शुरु हुने भएपछि खेल ३३ ओभरमा छोट्याइएको थियो ।
पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले र दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२३
प्रतिक्रिया दिनुहोस्