प्लेअफ पुग्ने कोलकाताको आशा कायमै, मुम्बई ५२ रनले पराजित
काठमाडौँ– मुम्बई इन्डियन्समाथि जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले प्लेअफ पुग्ने आशा कायमै राखेको छ ।
सोमबार राति भएको खेलमा कोलकाताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो ।
कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।
मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले । टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए। केइरन पोलार्डले १५ रन जोडे ।
कोलकाताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
कोलकाताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ /४३ रन जोडे । अजिन्का रहानेले २५ तथा रिन्कु सिंहले अविजित २३ रन बनाए ।
मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए । जितसँगै १२ खेल १० अंक जोडेको कोलकाता सातौं स्थान छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ ।