आज मध्यरातिदेखि मौन अवधि लागू हुँदै
काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि आज (मंगलबार) राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ ।
निर्वाचन आचारसंहिताअनुसार मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न नभएसम्म मौन अवधि कायम रहनेछ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा प्रचार प्रसारलगायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुनेछ। आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन।
निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।
त्यसकारण चुनावी प्रचारका लागि मंगलबार अन्तिम दिन हो । अन्तिम दिन भएकाले मंगलबार उम्मेदवारहरू चुनावी प्रचार प्रसारलाई तिव्रता दिने ध्याउन्नमा छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन् ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ ।