प्ले अफमा पुग्ने पहिलो टिम बन्यो गुजरात
काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।
पुनेमा मंगलबार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात पहिलो टिमको रुपमा प्ले अफमा पुगेको हो ।
यस्तै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।
लखनउका दिपक होडाले २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।
गुजरातका शुबमन गीलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२ रन बनाए ।
लखनउका आभेश खानले २ विकेट लिए ।
जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ भने लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।