उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु, शवलाई दुनै ल्याउन हेलिकोप्टर मगाइने
डोल्पा - स्थानीय तह निर्वाचनका लागि खटिएका एक म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-१, कोमास मतदानस्थलमा खटिएका २० वर्षीय सुरिन विकको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
काइके गाउँपालिका-४, घर भएका २४ वर्षीय विक आफूलाई खटाइएको मतदानस्थल पुग्नुअघि बिरामी भएका थिए । शे फोक्सुण्डो गाउँपालिका-३ शे गाउँमा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।
उकालो हिंड्ने क्रममा पेट दुख्ने समस्या भएपछि उनलाई शे गाउँमै फर्काइएको थियो । उनी बिरामी भएपछि उनको साथमा रहेका अरु दुई जना म्यादी प्रहरीले मृत्यु भएको खबर गरेको डीएसपी थापाले बताए ।
शे गाउँमा फोन सम्पर्क नहुने भएकाले मृतकसँगै रहेका म्यादी घटनाबारे प्रहरीलाई खबर गर्न डेढ घण्टा टाढाको बाटो हिंडेर आएका थिए । शव पोष्टमार्टमका लागि दुनै ल्याउन हेलिकप्टर ल्याउने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।