हिमाली भेगमा सबैभन्दा बढी मूल्यवृद्धि
काठमाडौं - चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा मूल्यवृद्धि सात दशमलव २८ प्रतिशत पुगेको हो । यसमध्ये खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि सात दशमलव ४० प्रतिशत र गैरखाद्य तथा सेवातर्फको मूल्यवृद्धि सात दशमलव १८ प्रतिशत रहेको छ । नौ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ प्रतिशतभन्दा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्य वृद्धिदर ७.२८ प्रतिशत रहेको देखिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । यसले गत वर्षको तुलनामा यो वर्ष मूल्यवृद्धि ह्वात्तै बढेको देखाएको छ ।
समीक्षा अवधिको २०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।
साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ । चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ। पहाड र तराईको तुलनामा हिमाली भेगको मूल्य वृद्धि धेरै देखिएको छ । काठमाडौं उपत्यकाको सबैभन्दा कम वृद्धिदर रहेको देखिएको छ ।
२०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो । मूल्य वृद्धिदर बढिरहे पनि आम्दानीमा पनि वृद्धि भैरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । चैत महिनामा तलब सूचकांक ९ दशमलव ४४ प्रतिशत र ज्यालादर सूचकांक ८.२७ प्रतिशतले बढेको देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:४०
प्रतिक्रिया दिनुहोस्