मौन अवधिमा पनि रोकिएन उम्मेदवारको प्रचार
काठमाडौं– मंगलबार मध्यरातबाट स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा चुनाब प्रचार प्रकारलगायत विभिन्न गतिविधि गर्न पाइँदैन ।
यो अवधिमा चुनावी सभा सम्मेलन र्याली लगायत रोकिएपनि सामाजिक सञ्जालमा भने प्रचार रोकिएको छैन । खासगरी फेसबुकमा उम्मेदवारले आफूले स्पोन्सर गरेका सामग्री , आफ्नोबारे आएका सकारात्मक खबरहरू शेयर पुस र कमेन्ट गरेर टाइमलाइनमा ल्याइरहेका छन् । समर्थकरुले प्रतिस्पर्धी उम्मेदवारका नराम्रा खबरहरूलाई पनि कमेन्ट शेयर गरेर टाइमलाइनमा ल्याइरहेका छन् ।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार सामाजिक सञ्जालमा पहिला पोष्ट भएका सामग्री पनि मौन अवधि सुरु भएसँगै डिलिट गर्नु पर्ने हुन्छ । अर्यालले कुनै पनि उम्मेदवारहरूको राम्रो कामको प्रचार पनि मौन अवधिको आचार संहिता विपरित हुने बताए ।
काठमाडौं महानगरपालिका सत्ता गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार सिर्जना सिंहलाई भोट मागेको भिडियो सामाजिक सञ्जालमा ‘स्पोन्सर’ भनेर आइरहेको छ । काठमाडौँकै अर्का उम्मेदवार केशव स्थापित र बालेन शाहको प्रचार गरिएका सामग्रीहरू पनि आइरहेका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का स्वकीय सचिव तथा प्रचण्ड पुत्री गंगा दाहालले भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार रेणु दाहालले गरेका कामहरू भन्ने शीर्षकको समाचार मौन अवधि शुरु भईकन सेयर गरेकी छन् ।
यस्तै, ललितपुर महानगरपालिकाका उम्मेदवार चिरीबाबु महर्जनको पालामा भएको बेरुजुका बारेमा लेखिएको समाचार पनि स्पोन्सर गरेर नै सामाजिक सञ्जालमा हालिएको छ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि मौन अवधि सुरु भएपछि भोट मागेका छन् । युट्युब च्यानलमा उनले मत मागेको भिडियो मौन अवधि सुरु भएपछि प्रसारण गरिएको हो ।
यी केही उदाहरण मात्र हुन् । मौन अवधिमा गर्न नपाइने प्रचार विभिन्न तरिकाले भइरहेका छन् । खासगरी सामाजिक सञ्जालमा विभिन्न तरिकाले प्रचार गर्ने क्रम रोकिएको छैन ।
कलाकारहरूले पनि उम्मेदवारलाई भोट मागेर स्टाटस लेखेका थिए । मौन अवधि सुरुभएपछि उनीहरूले काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयरका उम्मेद्वार बालेन शाहलाई भोट मागेका हुन् । कलाकारहरू स्वस्तिमा खड्का, निर्मल शर्मा, बर्षा राउतलगायतले सामाजिक सञ्जालबाट नै बालेन शाहका लागि भोट मागेका हुन् । उनीहरूले भोट मागेको समाचार आएपछि आफ्नो स्टाटस भने डिलिट गरेका छन् ।
यो अवधिमा सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले आफूले चाहेका उम्मेदवारका पक्षमा घुमाउरो तरिकाले भोट माग्ने र अर्को उम्मेदवारलाई कमजोर देखाउने क्रम रोकिएको छैन । विभिन्न पार्टीका कार्यकर्ताले आ–आफ्नो तरिकाको प्रचार प्रसार गरिरहेको देखिन्छ ।
यस्तै सञ्चार माध्यमले पनि मौन अवधिमा समाचार सम्प्रेषण गरेको पाइएको छ । कतिपयले उम्मेदवार भएको व्यक्तिले गरेको कार्य भनेर समाचार प्रकाशन गरेका छन् भने कतिपयमा अन्तर्वार्तासमेत प्रसारण भएको छ । यस अघि नै प्रेस काउन्सिल नेपालले सूचना जारी गर्दै मौन अवधिमा सजग रहन अनुरोध गरेको छ । पहिलो दिन आचार संहिता उल्लंघन गर्ने केही सञ्चार माध्यम र सञ्चारकर्मीलाई स्पष्टिकरण सोधिएको पनि काउन्सिलले जनाएको छ ।
राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी कुनै पनि विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार–प्रसारका सामग्री पोष्ट वा शेयर नगर्न, लाइक, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण नगर्न, राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न काउन्सिलले आग्रह गरेको छ ।
आयोगले तत्काल एक्सन लिनुपर्छ: दाहाल
आम निर्वाचन पर्यवेक्षण समिति नेपालका सदस्य तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सामाजिक सञ्जालबाट मौन अवधिको उल्लंघन हुनुले नियामक निकाय कमजोर भएको बुझिने बताए ।
क्यानडा नेपालसँग कुरा गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका दाहालले भने, ‘मौन अवधि सुरु भएपछि पनि उल्लंघन हुनु राम्रो होइन । सकभर त सम्पूर्ण मतदातले आफूलाई जिम्मेवार बनाएर पालना गर्नुपर्ने हो। तर, जानी नजानी भएका यस्ता कामलाई निर्वाचन आयोगले रोक्नुपर्छ ।’
‘निर्वाचन आयोगले सामाजिक सञ्जालहरुसँग नै सल्लाह गरेर एक्सनमा जानु पर्छ’ दाहालले थपे, ‘आयोग कागजी बाघको जस्तो मात्र हुनु भएन ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:११
प्रतिक्रिया दिनुहोस्